राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा सोमबार भानु साहित्य उद्यानको शिलान्यास गरेका छन्।
उद्यानको शिलान्यास गर्दै राष्ट्रपति पौडेलले स्रष्टा मुलुकको पूँजी र पहिचान भएकाले स्रष्टाको सम्मान गरी भाषा, साहित्यको विकासमा सरकार तथा सम्बद्ध सबै पक्षले ध्यान केन्द्रित गर्न जरुरी रहेको बताए। भानु साहित्य उद्यानलाई नेपालको साहित्यिक तथा सांस्कृतिक स्वरूपलाई जीवन्तता प्रदान गरी नेपाल र नेपालीको पहिचानलाई अझ अगाडि बढाउने अभियानका रूपमा बुझ्न जरूरी रहेको उनको भनाइ थियो।
उनले सङ्घीय तथा प्रदेश सरकारसँग यस क्षेत्रको पहुँच मार्गका रूपमा रहेको कच्ची सडकलाई सुदृढीकरण गर्न र खानेपानीको आपूर्तिका निम्ति स्थायी स्रोत पहिचान गरी तत्काल कार्यान्वयन गर्न आग्रह गरे। ‘भौतिक निर्माणको चरण प्रारम्भ भएको छ, त्यसलाई सघाउन सबै पक्षले आ-आफ्नो क्षेत्रबाट योगदान दिनु जरुरी छ,’ पौडेलले भने।
२०५३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा सरकारले भानु जन्मस्थल विकास समिति गठन गरेको थियो। त्यसपछि आफूले २०७० सालतिर भानु साहित्य उद्यानको अवधारणा प्रस्ताव गरेको पौडेलले स्मरण गरे।
भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई मूर्त रूप दिने चिन्तन समेटिएको छ। रम्घाको शिखरमा गोलघरमाथि भानुभक्तको विशाल प्रतिमा स्थापना, त्यसको भित्रीभागमा भानुभक्तको जीवनीको झलक, उपयुक्त स्थानमा भानुभक्तसहित नेपालका विविध भाषाका आदिकवि र प्रमुख स्रष्टाहरूका मूर्ति स्थापना भानुभक्तको साहित्यिक व्यक्तित्वलाई चिनाउने अवधारणा समावेश छ।
त्यस्तै, साहित्यग्राम, प्रज्ञाभवन, वनस्पति उद्यान र मनोरञ्जन उद्यान निर्माण गर्ने, भानुभक्तकालीन वस्ती र बजार क्षेत्र विकास गर्ने अवधारणा योजनामा छन्। यससँगै सप्तधाम निर्माण गरिने भएको छ। यसअन्तर्गत पहिलो चरणमा कोसीको बराहक्षेत्रधाम, मधेसको जनकपुरधाम, बागमतीको पशुपतिनाथधाम, गण्डकीको मुक्थिनाथधाम, लुम्बिनीको लुम्बिनीधाम, कर्णालीको चन्दननाथधाम र सुदूपश्चिमको वैद्यनाथधाम समेटिएका छन्।
Shares

प्रतिक्रिया