जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै मुलुक फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको आशंका व्यक्त गरेका छन्।
सोमबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै ठाकुरले सरकारका कामकाजप्रति आपत्ति जनाए।
प्रजातन्त्र आउनुभन्दा पहिले पनि केही मात्रामा स्वतन्त्रताको अनुभूति हुने थलोका रूपमा चिनिने ट्रेड युनियन, स्कुल-कलेजहरू र अदालतको कम्पाउन्डलाई अहिले प्रतिबन्ध गरिएकोमा ठाकुरले आपत्ति जनाए। उनले जनताको अधिकार खोसिँदा राष्ट्र नै कमजोर हुने बताए।
‘निजी क्षेत्रका व्यवसायीको घरमा आगो लगाउने, लुट्ने र विना स्पष्ट कारण गिरफ्तार गर्ने कार्य भइरहेको छ,’ उनले थपे, ‘यो सरकारले आफूलाई जेनजी सरकार भन्छ, वास्तवमा जेनजी के हो? के हाम्रो जेनेरेसन खत्तम हो र अहिलेको मात्र सही हो?’
इतिहास नष्ट गरेर कुनै पनि पुस्ता अगाडि बढ्न नसक्ने उनको जिकिर छ। मधेसको समस्या काठमाडौँ आउनुपर्दैन भन्ने प्रधानमन्त्रीको आश्वासनका बावजुद अहिले मधेसमा फेरि आवाज उठ्न थालेको उनले बताए।
‘सबै क्षेत्रमा चाहे शिक्षा होस्, स्वास्थ्य होस्, विस्तारै पछि पर्दै गएको छ। विकास अगाडि बढ्नुको साटो पछि परेको देखिन्छ। आज ती सबैलाई ब्यान्ड गरिएको छ, खारेज गरिएको छ,’ ठाकुरले प्रश्न गरे, ‘के यो देश फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको छ?’
जनसंख्याको आधारमा तथा राजश्वको अनुपातमा केन्द्रबाट क्षेत्रले पाउनुपर्ने बजेट थोरै भएको भन्दै ठाकुरले चिन्ता जनाए। प्रधानमन्त्री र मन्त्रीहरू भेट्न समय नपाउने गरी व्यस्त देखिएको तर जनताको समस्या समाधानमा गम्भीर नभएको उनको आरोप थियो।
Shares

प्रतिक्रिया