समाज


जहानियाँ शासनविरुद्ध लडेको हड्ताली हाटमा डोजर आतंकको क्रन्दन

जुट मिल मजदूर भन्छन्- सरकार, उठिबास लगाउनुभन्दा मारिदेऊ!
जहानियाँ शासनविरुद्ध लडेको हड्ताली हाटमा डोजर आतंकको क्रन्दन

विराटनगरको हड्ताली हाट क्षेत्रमा रहेको मजदूर र सुकुम्बासी बस्ती। सबै तस्बिर: सुमन सुस्केरा/नेपालखबर


सुमन सुस्केरा
बैशाख १६, २०८३ बुधबार १९:४२, काठमाडौँ

कुनै समय विराटनगर जुट मिलका श्रमिकले अधिकारको बिगुल फुकेको ऐतिहासिक स्थल हो, हड्ताली हाट। २००७ सालको क्रान्तिको उदय यही ठाउँबाट भएको हो। तर, आज त्यही हड्ताली हाटको चौतारामा अधिकारका नारा होइन, त्रासका क्रन्दन सुनिँदै छन्। 

वैशाख १६ मा विराटनगर महानगरपालिका-१६ पर्ने हड्ताली हाट पुग्दा स्थानीय बासिन्दा निरास देखिन्थे। उनीहरूको अनुहारमा त्रास छाएको थियो। सबैको एउटै प्रश्न थियो, ‘यहाँबाट हटायो भनेँ भोलि हाम्रो ओत कहाँ होला?’ 

हड्ताली हाटमा मात्रै तीन सयभन्दा बढी घरपरिवारको बसोबास रहेको स्थानीय बासिन्दा बताउँछन्। यो सुकुम्बासी बस्ती अहिले त्रासमा छ। सरकारले विराटनगर जुट मिलको जग्गा खाली गर्ने चर्चाबीच यो बस्तीमा त्रास छाएको हो। 

स्थानीय बासिन्दा कुराकानी गरिरहेको ठाउँमा ६४ वर्षीया कविता मगर आइपुगिन्। एकाहोरो आफ्नो कथा सुनाउन थालिन्। 

२८ वर्षकै उमेरमा उनी एकल भइन्। क्यान्सर रोगका कारण उनका पतिको मृत्यु भएको थियो। त्यसपछि उनले जीवनका थुप्रै हण्डर खाएर यो बस्तीलाई नै जीवन जीउने आधार बनाइन्। 

दुःखकष्ट सहेर सन्तान हुर्काइन्। तर, उनका सुखका दिन आएनन्। पीडामाथि पीडा थपियो। 

एउटा छोराले आत्महत्या गर्‍यो। कमाउन गएको अर्को छोरा फर्केर आएन। अहिले उनीसँग एउटी छोरी छन्, जो मानसिक रूपमा अस्वस्थ। ‘त्यो छोरी पनि पागल भएकी छे, उसको एउटा सानो छोराको मुख हेरेर बाँचेकी छु,’ यति बोलेर रोकिइन्। 

सरकारले काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चलाएदेखि नै उनको मनमा त्रास बढेको छ। अझ जुट मिलको जग्गा खाली गराउन हल्लाले उनलाई निद्रा पर्न छोडेको छ। ‘सरकार हामी सुकुम्बासीलाई मार्न चाहन्छ भने बरु जहर ल्याएर दियोस्, हामी राति नै खाएर मर्छौँ। तर यो उमेरमा कहाँ जाउँ?’, उनको बोली अवरुद्ध भयो। 

यो बस्तीमा केही वर्षयता आएका सुकुम्बासी मात्रै छैनन्, दशकौँदेखि बस्दै आएका श्रमिक पनि छन्। धेरै परिवारको त तीन पुस्ता हठ्ताली हाटमै हुर्किएको छ। मगरकै परिवार पनि हड्ताली हाटमा बस्न थालेको ७० वर्ष नाघिसक्यो। 

कुनै समय जुट मिल चल्दा छुट्टै रौनक थियो। उनीहरूलाई जुट मिल प्रशासनले नै चामल, औषधि र दूधलगायतका सबै सुविधा दिएको थियो। जुट मिल बन्द भएसँगै सुरु भएको दुःखको शृंखला अहिले ‘उठीबास’ लाग्ने अवस्थामा आइपुगेको छ। 

‘छोरा नातिहरू काम नपाएर बिग्रिँदै गएका छन्। भविष्य अन्धकार छ,’ वृद्धा मगर भन्छिन्, ‘बरु जुटमिल चलाएर यहाँका युवालाई रोजगारी दिने होला भनेको अहिले हामीलाई लुगाफाटो मात्र लिएर जा भनिएको छ!’

त्यस्तै, ७० वर्षीय मोहम्मद सुल्तनको जीवन पनि जुट मिलमै बित्यो । हिजोको दिनमा जंगल रहेको सम्झिने सुल्तन पछि जुट मिलले हड्ताली हाटमा आवासको लागि भवन बनाएको बताउँछन्। जुट मिल चलेको दिनसम्म काम गरेका सुल्तन अहिले बस्ती हटाउने कुरा सुनेर आक्रोशित छन् । ‘हामी फेरि जुट मिल चल्छ कि र हाम्रो जीवन फेरि फर्किन्छ कि भनेर पर्खिरहेका थियौँ तर सरकार त हाम्रो टाउकोमा चढेर हिँड्न खोज्दै छ,’ उनी भन्छन्। 

सल्तन ३२ वर्ष जुट मिलमा मेसिन चलाउने काम गरेको बताउँछन्। तीन पुस्ता हड्ताली हाटमै बसेको उनी सुनाउँछन्। ‘जीवनभर जुट मिलमा नै काम गरेर बसेका  थियौँ। मेरो छोराछोरी पनि यहीँ नै छन, नाति पनि यहीँ नै छन्,’ उनी सुनाउँछन्, ‘बुबा गणपति कटन मिलको मास्टर थिए। यहीँ बसे।’

जुट मिलको दक्षिणतर्फ दशगजा नजिकै चिया पसलमा भेटिइन् राधा शाही। चिया पकाउँदै कुराकानी गरेकी ७२ वर्षीया शाहीले जीवनका उर्वर समय जुट मिल र अन्य उद्योगमा काम गरेर बिताएको सुनाइन्। विराटनगर जुट मिल बन्द भएपछि उनका पति र छोरा बेरोजगार भए। अनि उनी जुट मिलकै जग्गामा रहेको टहरामा ब्यापार गर्न थालिन्। 

छोराबुहारीसहित शाही दम्पती जुट मिलकै जग्गामा टिनको घर बनाएर बस्दै आएका छन्। उनीहरू जस्तै लामो समय जुट मिलमा काम गरेर मजदूर आवासमा बसेकाहरू अहिले त्यही ठाउँमा टहराहरू बनाएर बसिरहेका छन्। अहिले हटाउने हल्लाले उनीहरूलाई पिरोलेको छ। 

२००७ सालपछि हड्ताली हाट क्षेत्रमा स्थापना भएका उद्योगहरू अहिले सबै बन्द छन्। विराटनगर जुट मिलसँगै कटन उद्योग, चिनी मिल, सलाई उद्योगहरू लामो समयदेखि बन्द छन्। 

उद्योगधन्दा बन्द हुँदा रोजगारी गर्दै आएका स्थानीय बासिन्दा र मजदूर बेरोजगार बनेका छन्। ‘हिजो भारतबाट पनि विराटनगरका उद्योगमा काम गर्न आउँथे, आज यहिँका मजदूर कमाएर के खाने भन्ने ठाउँमा पुगेका छौँ,’ वृद्ध सुल्तन दुःखेसो गर्छन्। 

१४ बिघामा मजदूर र सुकुम्बासीको बास 

देशकै जेठो उद्योग विराटनगर जुट मिलको स्वामित्वमा रहेको अर्बौँ मूल्यको जग्गा सरकारले खाली गराउने तयारी गरेको छ। जुट मिलको कति जग्गा हो, कति कतिक्रमित भएको छ भन्ने प्रशासनलाई नै थाहा छैन। 

उद्योग मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, मोरङलाई पत्र लेख्दै मिलको जग्गामा बनेका अनधिकृत संरचनाहरू हटाउन भनेको छ। जुट मिल प्रशासनका अनुसार, त्यही पत्रका आधारमा अब चाँडै यी ठाउँमा बस्दै आएका मजदूर तथा सुकुम्बासीलाई हटाउने तयारी गरिएको छ। 

मिलको ६७ बिघा जग्गामध्ये करिब १४ बिघामा अतिक्रमण रहेको जुट मिलका अध्यक्ष राजेन्द्र कार्की बताउँछन्। विशेषगरी हड्ताली हाट, हरिनगरा भट्टा र दक्षिण गेट क्षेत्रमा वर्षौँदेखि संरचना बनाइएका छन्। यसरी संरचना बनाउनेमा मजदूर र उनीहरूका परिवारसँगै केही नयाँ सुकुम्बासी पनि रहेको अध्यक्ष कार्की सुनाउँछन्। 

पहिले कर्मचारी बस्ने क्वार्टरहरू जीर्ण हुँदै गएपछि स्थानीय बासिन्दाले तिनै क्वार्टरका इटा र काठ प्रयोग गरेर नयाँ घर र झुपडी बनाएका थिए। कतिपयले त मिलको जग्गामा पक्की घर नै बनाएका छन्। 

यो क्षेत्र नेपाल-भारत सीमासम्म नै जोडिएको छ। जग्गा खाली गराउने सरकारी तयारीसँगै बसोबास गरिरहेका करिब ६ सय घरपरिवार विस्थापित हुने देखिएको छ। 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले विराटनगर जुट मिलको अतिक्रमित तथा कब्जा गरिएको जग्गा खाली गराइदिन माग गर्दै उद्योग मन्त्रालय तथा जुट मिल प्रशासनबाट पनि पत्र आएको बताए। त्यसका आधारमा प्रशासनले प्रक्रिया अगाडि बढाउँदै जुट मिलसँग अतिक्रमित क्षेत्रमा रहेका घरको संख्या, बसोबास गरिरहेका व्यक्तिको विवरण र वर्तमान अवस्थाबारे विस्तृत जानकारी लिने काम भइरहेको कोइरालाले बताए। त्यसपछि हटाउने प्रक्रिया सुरु हुने उनको भनाइ छ। 

हड्ताली हाटबाट हटाउने हल्ला चलेसँगै स्थानीय बासिन्दा आन्दोलनमा पनि उत्रिएका थिए। उनीहरूले नहटाउन माग गर्दै जुट मिलको कार्यालय घेराउ पनि गरेका थिए। तर, जुट मिल प्रशासनले हटाउनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेसँगै मजदूर र सुकुम्बासी निरास बनेका छन्। 

उनीहरू अन्त जाने ठाउँ पनि नभएको दुःखेसो गर्छन्। ‘हिजो हामीलाई यही ठाउँमा बस्न दिएको थियो, अहिले हटाउने भनेको छ रे!,’ वृद्धा शाही निरास हुँदै भन्छिन्, ‘खै कहाँ जाने हो! जाने ठाउँ पनि छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad