समाज


वैदेशिक रोजगारीका नाममा ३ करोड १६ लाख ठगी, काठमाडौँबाट पक्राउ परे यी ७ जना

वैदेशिक रोजगारीका नाममा ३ करोड १६ लाख ठगी, काठमाडौँबाट पक्राउ परे यी ७ जना

फाइल फोटो


नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १२:२६, काठमाडौँ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जनालाई प्रहरीले काठमाडाैँबाट पक्राउ गरेको छ ।

पीडित पक्षले दिएको उजुरीको आधारमा उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूले ४५ जनाबाट तीन करोड १६ लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

पक्राउ पर्नेमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ बस्ने तेह्रथुम घर भएका ४० वर्षीय सुरज पंधाक लिम्बु, सोलुखुम्बु घर भएका ४६ वर्षीय कमल बहादुर पुलामी मगर, काठमाडौँ महानगरपालिका-१२ बस्ने काभ्रे घर भएका ३९ वर्षीय बिनोद थापा, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका बस्ने सोलुखम्बु घर भएका २९ वर्षीय सागर शेर्पा छन्। 

त्यसैगरि काठमाडौँको गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका ५६ वर्षीय सूर्य प्रसाद कोइराला, काठमाडौँ महानगरपालिका-३२ बस्ने काभ्रे घर भएका २६ वर्षीय प्रल्हाद खत्री र ३३ वर्षीय सरोज गौतम पनि ठगी आरोपमा पक्राउ परेका छन्। 

पक्राउ मध्ये सुरज र कमल बहादुरले जापान पठाइदिन्छु भन्दै ११ जनाबाट १ करोड २ लाख रूपैयाँ,  बिनोदले कोरिया पठाइदिन्छु भन्दै २६ जनाबाट १ करोड ५० लाख रूपैयाँ, सागरले फ्रान्स पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २८ लाख रूपैयाँ ठगी गरेको आरोप छ। 

त्यसैगरि सूर्य प्रसादले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, प्रल्हादले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ र सरोजले पनि ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ ठगी गरेका थिए। 

रकम लिएपछि सम्पर्कविहीन भएका उनीहरुको विरुद्धमा पीडितहरुले उजुरी दिएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले खोजी सुरु गरेको थियो। 

सुरजलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-६ बाट, कमल बहादुरलाई काठमाडौँ महानगरपालिका-३१ बाट, सागरलाई काठमाडौँ जोरपाटीबाट, प्रल्हाद र सरोजलाई काठमाडौँ महानगरपालिका-३२ बाट बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

त्यसैगरि बिनोदलाई काठमाडौँ महानगरपलिका- १२ र सूर्य प्रसादलाई काठमाडौँ महानगरपालिका-७ बाट बिहीबार पक्राउ गरिएको प्रहरीको भनाई छ। 

पक्राउ मध्ये सुरज र कमल बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने बिनोद, सागर, सूर्य प्रसाद, प्रल्हाद र सरोजलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad