समाज


प्रेस स्वतन्त्रता हननका घटना वृद्धि, महासंघले भन्यो- आगामी दिन झनै चुनौतीपूर्ण

प्रेस स्वतन्त्रता हननका घटना वृद्धि, महासंघले भन्यो- आगामी दिन झनै चुनौतीपूर्ण

नेपालखबर
बैशाख १९, २०८३ शनिबार १५:५६, काठमाडौँ

नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएको नेपाल पत्रकार महासंघले जनाएको छ। 

प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले शुभकामना सन्देश जारी गर्दै प्रेस स्वतन्त्रता हननका घटना बढेको तथ्यांक सार्वजनिक गरेकी छन्। अध्यक्ष शर्माका अनुसार, महासंघ सञ्चार अनुगमन एकाइले मे ४ सन् २०२५ देखि ३० अप्रिल २०२६ सम्म संकलन गरेको विवरणमा एक वर्षमा १३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन्। जबकि, गत वर्ष ७३ वटा यस्ता घटना भएका थिए। 

त्योभन्दा अघिल्लो वर्ष ६२ वटा घटना भएको महासंघको तथ्यांक छ। तुलनात्मक विश्लेषण गर्दा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढिरहेको तथ्याङ्कहरूले देखाएको शर्माले जनाएकी छन्। 

त्यस्तै, एक वर्षमा भएका प्रेस स्वतन्त्रतता हननका घटनामा पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका ५१ वटा घटना छन्। त्यसैगरी पत्रकार तथा सञ्चार सामग्रीमाथिको आक्रमणका ३० वटा घटना रहेका छन्। पेशागत असुरक्षा १८ र कब्जा तथा अवरोधका २६ वटा घटना छन्। नीतिगत बन्देज तीन वटा, पत्रकार पक्राउ दुई जना र एक जना पत्रकारको शंकास्पद मृत्यु भएको अभिलेख रहेको महासंघले जनाएको छ। 

गत भदौको जेनजी आन्दोलनका क्रममा २६ वटा प्रेस स्वतन्त्रता हननका घटना हुँदा एक सयभन्दा धेरै पत्रकार तथा सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका थिए। हिंसात्मक घटनामा सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड भएको थियो।

जेनजी आन्दोलनमा संस्थागततर्फ करिव ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पत्रकार तथा सञ्चार उद्यमीको निजी सम्पत्तितर्फ करिब १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए।

त्यस्तै, सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर पब्लिकेशन, अन्नपूर्ण पोस्ट, थाहा खबर, बुटवलस्थित रेडियो जागरण, इलाममा नेपालवाणी एफएम र इलाम एक्सप्रेस, चितवनका विभिन्न सञ्चारगृह, सप्तरीमा महासंघ शाखा कार्यालयसहितका सञ्चारगृहमा आगजनी, तोडफोड तथा लुटपाट भएको महासंघले जनाएको छ। 

समग्रमा यो वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना वृद्धि हुनुका साथै कानुन र नीतिगत सुधारमा निष्क्रियता देखिएको महासंघले जनाएको छ। ‘पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेशागत र भौतिक सुरक्षामा जोखिम जस्ता कारणले प्रेस स्वतन्त्रता झनै चुनौतीपूर्ण बन्दै गएको महासंघको ठहर छ,’ अध्यक्ष शर्माले भनेकी छन्। 

नयाँ सरकारका क्रियाकलापले पनि ढुक्क हुने अवस्था नरहेको महासंघले जनाएको छ। ‘सञ्चार क्षेत्रको आर्थिक संकट समाधान, पत्रकार पलायन, निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन तथा सूचनामा लगाइएको रोक, सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचनाको प्रतिरक्षा गर्नु महासंघका सामु चुनौती छन्,’ महासंघले भनेको छ, ‘यो सरकारले पनि संविधानमा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, जनताको मौलिक हकको प्रत्याभूति र लोकतान्त्रिक संस्कृतिको सरक्षण गर्छ भन्नेमा महासंघ सशंकित छ।’

अध्यक्ष शर्माले शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रता पेचिलो बन्दै गएको अहिलेको अवस्थमा मुलुकका विभिन्न पेशागत संगठन र नागरिक अगुवासँग अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासंघले ऐक्यवद्धताको अपेक्षा गरेको जनाएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad