समाज


सर्प भ्यागुतोको पनि बलि दिइने अजिमा जात्रा (तस्बिरहरू)

सर्प भ्यागुतोको पनि बलि दिइने अजिमा जात्रा (तस्बिरहरू)

सबै तस्बिर: सुनिता विष्ट/नेपालखबर


सुनिता विष्ट
बैशाख १९, २०८३ शनिबार २२:७, टिष्टुङ

मकवानपुरको थाहा नगरपालिका-६ टिष्टुङ बज्रबाराहीमा हरेक तीन वर्षमा लाग्ने ऐतिहासिक बज्रबाराही अजिमा जात्रा शनिबार सुरु भएको छ। वैशाख पूर्णिमा पछिको पहिलो शनिबारबाट सुरु हुने यो जात्रा तीन दिनसम्म चल्छ।

जात्राको पहिलो दिन गाउँ-गाउँबाट देवताहरू ल्याएर टिष्टुङस्थित बज्रबाराही पीठमा राखिन्छ। टोलको प्रत्येक घरबाट बलीसहित पूजापाठ ल्याएर दिनभर पूजा गरिन्छ भने तेस्रो दिन देवताहरूलाई पुनः गाउँ फर्काइन्छ।

निवास मल्लले नेपाल संवत् ७८६ मा ललितपुरस्थित बज्रबाराही मन्दिर निर्माण गराएको पाइन्छ। टिष्टुङको बज्रबाराहीलाई ललितपुरको बज्रबाराहीको ‘आमा’का रूपमा लिने गरिन्छ।

स्थानीय गुठी व्यवस्थापन समितिका अनुसार जात्राको व्यवस्थापनमा १३ वटा गुठी सक्रिय छन्। गणेश, कुमारी, बाराही, इन्द्रायणी, भैरव र बाजा व्यवस्थापन गुठीलगायतले आ-आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्। गुठीको नाममा रहेको करिब २०४ रोपनी जग्गाबाट प्राप्त आम्दानीले जात्रा सञ्चालन हुँदै आएको छ।

जात्राअघि ‘चा पूजा’ अर्थात् राति गरिने विशेष पूजा आइतबारदेखि शुक्रबारसम्म सञ्चालन हुन्छ। तान्त्रिक विधिअनुसार हुने यस पूजामा सहभागी हुनेहरूले विशेष नियम पालना गर्नुपर्ने चलन छ। त्यसपछि देवीलाई प्रसन्न पार्न क्षमा पूजा गरिन्छ र कर्माचार्यमध्ये एक जनालाई ‘खः द्यो’का रूपमा चयन गरिन्छ, जसले खड्ग बोकेर विशेष भूमिकामा रहन्छ।

जात्राको मुख्य आकर्षण मध्यरातमा गरिने सरकारी पूजा हो, जसमा सर्प, भ्यागुतो, हाँस, भेडा, माछा, भाले, बोका र राँगालगायतका जीवहरूको बली दिइन्छ। पञ्चबली दिने चलन पनि दोस्रो दिन विशेष रूपमा गरिन्छ।

अन्तिम दिन बली दिइएका जीवहरूको टाउको संकलन गरी विशेष यज्ञ गरिन्छ। त्यसपछि देवतालाई फूल, मासु र भातले ढाकेर प्रसादका रूपमा वितरण गरिन्छ। प्रसाद ग्रहण गर्दा रोगव्याधि निको हुने धार्मिक विश्वास छ।

जात्राभर विभिन्न जातजातिका मानिसहरू परम्परागत वेषभूषा, बाजागाजा र सांस्कृतिक झाँकीसहित सहभागी हुन्छन्। पूजा सम्पन्न भएपछि बज्रबाराही देवीको खटलाई परिक्रमा गराई पुनः देउलाटोलमा ल्याएर जात्रा समापन गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad