समाज


उपत्यकामा सवारीसाधनको प्रदुषण परीक्षण

उपत्यकामा सवारीसाधनको प्रदुषण परीक्षण

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १४:३२, काठमाडौँ

वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनको प्रदुषण स्तर मापनका लागि स्थलगत जाँच अभियान शुरु गरेको छ। 

विभागले बुधबार काठमाडौँको बबरमहलमा विशेष टोली खटाएर सार्वजनिक सवारीसाधनहरूको प्रदुषण परीक्षण गरेको हो।

काठमाडौँ महानगरपालिकाको संयोजन तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, वातावरण विभाग र महानगर प्रहरी बलको संयुक्त सहकार्यमा यो जाँच प्रक्रिया अघि बढाइएको हो।

स्थलगत जाँचका क्रममा सवारीसाधनबाट उत्सर्जन हुने धुवाँको अवस्थाका अतिरिक्त ट्राफिक प्रहरीले सवारीको यान्त्रिक अवस्था र आवश्यक कागजातहरूको समेत सूक्ष्म निरीक्षण गरिरहेको विभागले जनाएको छ।

विद्यमान कानूनी व्यवस्थाअनुसार सार्वजनिक सवारीसाधनले प्रत्येक ६–६ महिनामा र साना तथा मझौला सवारीसाधनले वर्षमा एक पटक यातायात कार्यालयमा अनिवार्य प्राविधिक जाँच गराउनुपर्ने प्रावधान छ।

परीक्षणका क्रममा प्रदुषण मापदण्ड पूरा गर्न नसकेका सवारीसाधनलाई तत्काल मर्मत गरी पुनः परीक्षणका लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

प्रदुषण परीक्षणमा असफल भएका सवारीसाधनको रुट इजाजत मापदण्ड उत्तिर्ण नहुन्जेलसम्मका लागि निलम्वन गरिने प्रावधान रहेको छ।

त्यस्ता सवारीसाधनले आफूसँग रहेका यात्रुहरूलाई अन्तिम गन्तव्यसम्म पुर्‍याएपछि पुनः सडकमा गुडाउन पाउने छैनन्।

सवारी धनीले आवश्यक मर्मतसम्भारपश्चात पुनः प्रदुषण जाँच गराएर मापदण्ड पूरा गरेको सुनिश्चित भएपछि मात्र सवारीसाधन सञ्चालनको अनुमति पाउने विभागले जनाएको छ।

वातावरण संरक्षण र सहरी प्रदुषण नियन्त्रण गर्ने उद्देश्यले यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad