कर्णाली


‘अर्गानिक कर्णाली’मा छ्यापछ्याप्ती बिषादी, ४७६ किलो तरकारी नष्ट

‘अर्गानिक कर्णाली’मा छ्यापछ्याप्ती बिषादी, ४७६ किलो तरकारी नष्ट

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १४:३८, सुर्खेत

अर्गानिक प्रदेशका रुपमा प्रस्तुत गर्दै आएको कर्णाली प्रदेशमै छ्यापछ्याप्ती बिषादी भेटिन थालेको छ। कर्णालीमा एक हप्तामा मात्रै ४७६ किलो तरकारीमा विषादी भेटिएपछि नष्ट गरिएको छ। 

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, सुर्खेतले विभिन्न स्थानबाट आएका तरकारीमा उच्च मात्रामा विषादी भेटिएपछि ठूलो परिमाणमा नष्ट गरेको हो।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, सुर्खेतका नायव प्राविधिक सहायक धनसिंह धामीले वैशाख १६, १९, २२ र २३ गते विभिन्न तरकारीमा गरिएको परीक्षबाट तरकारीमा अत्याधिक विषादी भेटिएको जानकारी दिए। 

धामीका अनुसार वैशाख १६ गते दैलेखको गुराँस गाउँपालिकाबाट आएको १६० किलो काउलीमा परीक्षण गर्दा अर्गानोफस्फेट समूहको विषादी ९५.०५ प्रतिशत रहेको पाइएपछि नष्ट गरिएको छ।

वैशाख १९ गते बर्दियाबाट आएको २०५ किलो गोलभेडामा ५३.५३ प्रतिशत, वैशाख २२ गते सुर्खेतको रतुबाट आएको ८० किलो काउलीमा ४५.६३ प्रतिशत विषादी भेटिएपछि नष्ट गरिएको छ।

यस्तै, वैशाख २३ गते आज मंगलरबार दाङबाट आएको ३१ किलो बोडीमा ५८.७३ प्रतिशत विषादीको मात्रा फेला परेपछि उक्त बोडी पनि नष्ट गरिएको प्रयोगशालाका प्राविधिक सहायक धनसिंहले बताए। 

उनका अनुसार विगत एक हप्ताको अवधिमा विभिन्न तरकारी गरी जम्मा ४७६ किलो विषादीयुक्त तरकारी नष्ट गरिएको छ।

प्राविधिक सहायक धामीले बजारमा आउने तरकारीमा नियमित परीक्षणलाई कडाइ गरिएको र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिइएको जानकारी दिए।

उनका अनुसार यसरी तरकारीमा प्रयोग गरिएका अर्गानोफस्फेट समूहका विषादी मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छन्। यस्ता विषादीको उच्च मात्रा शरीरमा प्रवेश गर्दा टाउको दुख्ने, वान्ता हुने, चक्कर लाग्ने, आँखा पोल्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन सक्छन्।

दीर्घकालीन रूपमा यस्ता विषादीयुक्त खाद्य पदार्थको सेवनले स्नायु प्रणालीमा असर पर्ने, स्मरणशक्ति कमजोर हुने, कलेजो तथा मिर्गौलामा समस्या आउने, हर्मोन असन्तुलन हुने र क्यान्सरसम्मको जोखिम बढ्न सक्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad