समाज


जसलाई सत्तामा पुर्‍याउन गोली खाइयो, उसैले बास उठाइदियो : जेनजी आन्दोलनका घाइते निश्चल (भिडिओ)


आयुषा ढकाल
बैशाख २३ , काठमाडौँ

शिक्षण अस्पतालको पछाडिपट्टि रहेको सुकुम्बासी बस्तीको बीचमा जेनजी आन्दोलनमा घाइते भएका निश्चल थापाको सानो छाप्रो छ। वरिपरि बारेको जस्ताको चेपबाट अँध्यारो कोठाभित्र उज्यालो चुहिएको छ। 

छाप्रोमा सानो किचेन र्‍याक, दुई वटा खाट र पूजा गर्ने सानो मन्दिर पनि छ। पोको पारिएका सामानहरू चारैतिर छरपस्ट छन्। निश्चल निराशाले भरिएको अनुहार निहुर्‍याएर ओछ्यानमा पल्टिएका छन्। उनको अनुहार हेर्दा लाग्छ, उनी कसैसँग आँखा जुधाएर बोल्न चाहँदैनन्। आफैँसँग चिढिएका छन्।

बुधबार नेपालखबरको टोली उनको छाप्रोमा पुग्दा निश्चल गहिरो चिन्तामा थिए।

भदौ २४ गतेको आन्दोलनमा गोली लागेर घाइते भएका निश्चल यसै पनि तनावमा थिए। त्यसमाथि वैशाख १६ गते बस्ती खाली गर्नका माइकिङ गरिएपछि उनी झन् आत्तिएका छन्। अब कहाँ बस्ने होला भन्ने चिन्ताले उनलाई सताएको छ।

जुनसुकै बेला डोजर आउन सक्ने भएपछि उनले कोठा खोज्न थालेका थिए। तर, कतै नपाएपछि उनी अलपत्र परेका छन्।

‘कुन बेला कतिखेर भत्काउन आउँछ पनि थाहा छैन,’ उनी भन्छन्, ‘रुम खोज्दा पनि पाएको छैन, डोजर हानिदियो भने त मेरो बिजोग हुन्छ।’

‘जसको लागि आन्दोलनमा गइयो, उसैले घरबाट निकालिदियो, के गर्नु त,’ पीडालाई मनभित्र लुकाएर हाँस्दै निश्चलले भने।

जीवनभरको कमाइ लगाउँदा पनि बुवालाई बचाउन सकेनन्
उनका बुवा श्रीराम थापालाई स्ट्रोक भएपछि आधा शरीर नै नचल्ने (प्यारालाइस) भएको थियो। निश्चल र उनकी आमाले आफ्नो भएजति सारा जम्मा सम्पत्ति उपचारमा लगाए। साढे दुई वर्षको उपचारपछि पनि बचाउन सकेनन्। पाँच वर्षअघि उनी बिते।

श्रीरामले ट्याम्पु चलाएर घर राम्रैसँग चलाएका थिए। निश्चल र आमा लेखमाया पनि काम गर्थे, जसले गर्दा उनीहरूको जीवन सहज रूपमा नै बितेको थियो। तर बुवाको मृत्युपछि सबैथोक बिग्रिँदै गयो।

निश्चल अस्पतालमा हाउसकिपिङदेखि लिएर रङ लगाउने र ज्यामीको काम पनि गर्थे र गुजारा चलाउँथे।

‘ड्याडी पनि हुनुहुन्न, म थिएँ कमाउने। अब म पनि यस्तो भइहाले, ममीले अर्काको घर–घरमा गएर काम गर्नुहुन्छ। ममीले धेरै दुःख पाउनु भएको छ। घर पनि जान लाग्यो,’ उनले भने।

जेनजी आन्दोलनमा जब गोली लाग्यो
भदौ २३ गते जेनजी आन्दोलनमा धेरै विद्यार्थीलाई ताकीताकी गोली हानेर मारेको देखेर निश्चल आक्रोशित भएका थिए। भोलिपल्ट २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली देश छोडेर भाग्दै छन्, सबै जना एयरपोर्टमा उनलाई रोक्न जाऔँ भन्ने सूचना उनले फेसबुक ग्रुपबाट पाए। त्यसपछि उनी र उनका साथी पनि एयरपोर्टतर्फ लागे।

चक्रपथमा धेरै आन्दोलन थिए। त्यही भिड भएको ठाउँमा निश्चल र उनका साथी पनि पुगे। आन्दोलनकारीले ढुङ्गा हान्न थालेपछि प्रहरीले रबरको गोली चलाउन थाल्यो। थापा आन्दोलनको भिडिओ खिचिरहेका थिए। अचानक प्रहरीले धातुको गोली चलायो। एउटा गोली आएर निश्चलको कम्मरमुनिको भागमा लाग्यो।

एकछिन त उनले पत्तै पाएनन्, आफूलाई के भयो भनेर। थापा चक्रपथको सडकमा डंग्रङ्ग ढले। केही आन्दोलनकारीहरूले उनलाई चक्रपथको एउटा अस्पतालमा पुर्‍याए। त्यहाँ उनलाई पेनकिलर दिएर रगत रोकेर त्रिभुवन शिक्षण अस्पताल रिफर गरियो।

पेनकिलर दिए पनि उनको दुखाइ कम भएको थिएन। गोलीको कारण उनको मलद्वार वरिपरिको हिस्सा क्षतविक्षत भएको छ। त्यसैले उनको पेटमा शल्यक्रिया गरेर ब्याग राखिएको छ। सोही ब्यागमा उनको दिशा हुने गर्छ। चिकित्सकले केही समयपछि उनको मलद्वारको शल्यक्रिया गर्नु पर्ने बताएका छन्।

अस्पताल लगेको एक हप्तापछि उनलाई डिस्चार्ज गरियो। त्यतिबेला उनी हिँड्न पनि सक्दैनथे। 

त्यो समयको कुरा सम्झिँदै थापा भन्छन्, ‘के गर्नु, अस्पतालबाट जा भनेपछि जानु परिहाल्यो।’ 

डिस्चार्ज भएको भोलिपल्ट निश्चललाई फेरि अस्पताल ल्याएर गोली निकालेर पठाइएको उनले बताए। 

‘रिकभर नै नभई अस्पतालले घर पठाइदियो, ३–४ महिना धेरै दुःख पाए मैले,’ निश्चलले नेपालखबरसँग भने।

यो संसारमा आफ्नो भन्नु आमाबाहेक कोही रहेनछ भन्ने कुरा निश्चलले अस्पतालको बेडमा पल्टिँदा बुझे। थापालाई भेट्न कतैबाट कोही पनि आएनन्। उनकी आमा काममा पनि जान्थिन् अनि छोराको रेखदेखका लागि अस्पताल पनि पुग्थिन्। त्यति ठूलो पीडा हुँदा पनि लेखमायाले आफ्नो छोराको अगाडि एक थोपा आँसु झारिनन्। छोरालाई सधैँ हिम्मत दिइरहिन्।

निश्चलले भने, ‘तनाव त धेरै भयो होला तर म रुन्छु भनेर कहिल्यै मेरो अगाडि रुनु भएन।’ 

बालेन र्‍यापर हुँदादेखि नै निश्चल उनको ठूलो फ्यान थिए। महानगरको मेयर हुँदा पनि शाहको काम मन पराएका थापाले फागुन २१ को निर्वाचनमा रास्वपालाई जिताउन टोलभरिकालाई आह्वान गरेका थिए।

‘मेरो टोलका मान्छेहरूलाई मैले घण्टीमा कसैले भोट हालेनौ भने म कसैसँग पनि बोल्दिन भनेको थिएँ,’ थापाले भने। 

नतिजा पनि उनले सोचेअनुरूप नै आयो र बालेन शाह देशको प्रधानमन्त्री बने।

निश्चलले भने, ‘रास्वपाले जित्दा खुसी लागेको थियो नि। तर एक्कासि केही व्यवस्था नगरी सुकुम्बासीको घर भत्काउँदा मन खिन्न भयो। बस्ती भत्काउनु नै नराम्रो हो भनेको छैन तर व्यवस्थित तरिकाले केही समय दिएर भत्काएको भए हुने थियो।’

‘हिजोको आज घर कसरी खाली गर्नु?’ उनको प्रश्न छ, ‘कोठा खोज्न जाँदा सुकुम्बासी भनेपछि सोचाइ नै फरक हुँदो रहेछ, कोठा खाली भए पनि दिँदैनरहेछन्।’

घाइते भएपछि आफूलाई पटकपटक ज्यान दिने सोच आए पनि आमाको मुख हेरेर रोकिएको उनले बताए।

‘सबैभन्दा धेरै चिन्ता मलाई मेरो ममीको छ। घर त अब मलाई ठिक भएपछि काम गरेर कमाएर बहालमै बसेर खाऔँला नि,’ गहभरि आँसु पार्दै निश्चलले भने। 

भिडिओ :

फोटो/भिडिओ : सरोज शाही

बैशाख २३, २०८३ बुधबार २१:३८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad