यतिबेला (मंगलबार बिहान) देशभर मौसम बदली भएको छ भने धेरैजसो स्थानमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ८ बजे दिएको जानकारीअनुसार हाल बागमती र गण्डकी प्रदेशका केही स्थान, कोसी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको छ।
पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर मौसम बदली र वर्षा भइरहेको हो।
मौसम महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, मधेस प्रदेश तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै हिमाली भेगमा हिमपातको पनि सम्भावना छ।
यस्तै राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हिमपात पनि हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकामा बिहानैदेखि मौसम बदली र वर्षा
काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि मौसम बदली र वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज (मंगलबार) दिनभर नै काठमाडौँ उपत्यकामा मौसम खुल्ने सम्भावना कम छ।
'आज उपत्यकामा थप वर्षा हुने सम्भावना उच्च छ', मौसमविद् बिनु महर्जनले नेपालखबरसँग भनिन्, 'हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।'
उनका अनुसार अहिले पनि काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
'आज काठमाडौँ उपत्यकामा मौसम खुल्ने सम्भावना कम छ', मौसमविद् महर्जनले भनिन्, 'कुनै बेला झुलुक्क घाम देखिए पनि फेरि बादल लाग्ने सम्भावना छ।'
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया