हाल (शनिबार बिहान) कोसी प्रदेशमा साधारणतया र मधेस, बागमती, गण्डकी प्रदेश र बाँकी हिमाली भेगमा आंशिक बादल लागेको छ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा छ। अनि कोसी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो कोसी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया र बाँकी हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ।
अनि कोसी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान, मधेस प्रदेशसहित बाँकी हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा दिउँसो मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै हिमाली भेगमा हिमपातको सम्भावना छ। तराईका थोरै स्थानमा हुरीको पनि सम्भावना छ।
यस्तै राति कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली भेगमा साधारणतया तथा मधेस प्रदेशलगायत देशका बाँकी हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ।
अनि कोसी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हुरीको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकामा मध्यम वर्षाको सम्भावना
आज शनिबार काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।
'दिउँसो १/२ बजेसम्म मौसम आंशिक बदली रहने र त्यसपश्चात् बादल बढ्दै गएर काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ', उनले नेपालखबरसँग भने।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया