समाज


विराटनगरमा जारी ‘एजुकेसन फेयर’ अलपत्र छाडेर जम्बो सरकारी टोली पोखरा भ्रमणमा

विराटनगरमा जारी ‘एजुकेसन फेयर’ अलपत्र छाडेर जम्बो सरकारी टोली पोखरा भ्रमणमा

नेपालखबर
जेठ ३, २०८३ आइतबार ८:२५, विराटनगर

​एसईई उत्तीर्ण विद्यार्थीहरूलाई प्राविधिक शिक्षा र करियर सम्बन्धी जानकारी दिने उद्देश्यले विराटनगरमा आयोजना गरिएको प्राविधिक शिक्षा मेला  (एजुकेसन फेयर) नसकिँदै आयोजक संस्थाको जम्बो सरकारी टोली रमाइलो गर्न पोखरा भ्रमणमा निस्किएको छ। 

कोसी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को संयुक्त आयोजनामा शनिबारदेखि सुरु भएको मेलाको समापन आइतबार साँझ हुने तालिका छ। 

मेलाको मुख्य आकर्षण र व्यवस्थापकीय पक्ष बाँकी नै रहेको अवस्थामा मन्त्रालय र सीटीईभीटीका पदाधिकारी तथा कर्मचारीहरू सम्मिलित २४ जनाको जम्बो टोली पाँच दिने अन्तर प्रदेश अध्ययन भ्रमणका लागि भन्दै पोखरा प्रस्थान गर्न लागेको हो।

​एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यो मेलाको पहिलो दिन शनिबार अन्य शिक्षण संस्थाहरूमा कक्षा ११ को प्रवेश परीक्षा परेका कारण विद्यालयहरूको उपस्थिति न्यून देखिएको थियो।

दोस्रो दिन आज आइतबार विद्यार्थी र शैक्षिक संस्थाहरूको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिए पनि आयोजक संस्थाका प्रमुखहरू नै मेलास्थल छाडेर भ्रमणमा निस्कन लागेका हुन्। 

सीटीईभीटी इटहरीकी निर्देशक मिना खरेल, सामाजिक विकास मन्त्रालयको प्राविधिक शाखाका डुण्डीराज पौडेल, मनमोहन पोलिटेक्निकका प्रिन्सिपल सुदीप अधिकारी, कार्यक्रममा सहभागी विद्यालयका प्रअ सन्तोष पोखरेलसहित सामाजिक विकास मन्त्रालयबाट ८ जना, सीटीईभीटीबाट ७ जना, विभिन्न विद्यालयका प्रधानाध्यापक तीन जनासहित २४ जना भ्रमणामा जाँदैछन्।

उनीहरूले मेलाको समापन र बाँकी व्यवस्थापनको जिम्मेवारी भने विराटनगरमै रहेका अन्य प्राविधिक कर्मचारीलाई सुम्पिएको बुझिएको छ।

​मुख्य अन्तरक्रिया र स्थानीय तहका प्रतिनिधिहरूसँगको कार्यशाला शनिबार नै सकिएकाले आइतबार मेलामा आएकाहरूलाई जानकारी दिने कार्य मात्र बाँकी रहेको भन्दै टोली भ्रमणमा जान लागेको हो। 

यो भ्रमण अन्य प्रदेशमा प्राविधिक शिक्षाको अभ्यास, मन्त्रालयहरूको कार्यशैली र त्यहाँका उत्कृष्ट संस्थाहरूको वस्तुस्थिति अध्ययन गरी कोशी प्रदेशको प्राविधिक शिक्षामा सुधार ल्याउने उद्देश्यले तय गरिएको निर्देशक खरेलले दाबी गरिन्। 

तर, आफ्नै प्रत्यक्ष रेखदेख र आयोजनामा सञ्चालित मेला पूर्ण रूपमा सम्पन्न नहुँदै मन्त्रालय र सीटीईभीटीको ठूलो टोली भ्रमणमा निस्किने कुराले मेलाको प्रभावकारिता र जिम्मेवारीबोधमाथि भने प्रश्न उठेको छ। मेलामा सहभागी एक शिक्षकले भने, ‘आयोजक नै गैरजिम्मेवार देखिएपछि भेलाको औचित्य सकियो।’

उनले आजको भ्रमणमा जान लागेका सामाजिक विकास मन्त्रालय र सीटीइभीटीका कतिपय कर्मचारीले दुई दिने कार्यक्रमको टिएडिए/भत्तासमेत अग्रिम रुपमा हिजै बुझिसकेको दाबी गरे। 

‘एईईपछि प्राविधिक शिक्षामा विद्यार्थीलाई आकर्षित गर्ने उद्देश्यले कार्यक्रम भएको भनिएको थियो। हिजोदेखि सुरु भएको कार्यक्रम आज साँझसम्म चल्ने कुरा छ,’ ती शिक्षकले भने, ‘तर नेतृत्व तहमा बस्नेहरूले नै कार्यक्रमको गरिमा समाप्त पारे। यो कार्यक्रम त बजेट सक्न मात्रै गरेको जस्तो देखियो।’

अवलोकन भ्रमण भनेर जान लागेको सरकारी जम्बो टोली तीन दिनसम्म पोखरामा बसेर रमाइलो गर्ने तयारी छ।

एक कर्मचारीका अनुसार काेसीको सामाजिक विकास मन्त्रालयका सचिव पनि भ्रमणमा जाने भन्ने तयारीमा थिए। तर मन्त्रीले सचिवलाई भने रोकेका छन्।

एजुकेसन फेयरमा काेसी प्रदेशभरका ४० वटा प्राविधिक शिक्षालयको सहभागिता छ। ‘समापन नगरी हिँड्नु त कार्यक्रम प्रतिको गैरजिम्मेवारीको पराकाष्ठा नै भयो,’ कार्यक्रममा सहभागी एक शिक्षकले भने।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad