गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
आइतबार राति करिब १० बजे सत्यवती गाउँपालिका–१ ठूलाबगर छल्दीस्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु.३६प ३६२७ नम्बरको मोटरसाइकल सडकबाट करिब तीन मिटर खसेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह राना छन्।
थापा मोटरसाइकलका चालक रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र रिडिले मृत घोषणा गरेको हो। शवको घटनास्थल मुचुल्का पश्चात पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको प्रहरीले जनाको छ।
दुर्घटनाको जानकारीप्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विक र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया