समाज


क्यान्सरविरुद्ध जीवनरक्षक औषधि तीन साताका लागि मात्रै मौज्दात

क्यान्सरविरुद्ध जीवनरक्षक औषधि तीन साताका लागि मात्रै मौज्दात

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १८:५४, काठमाडौँ

क्यान्सरको उपचारमा प्रयोग हुने दुई वटा औषधि तीन साताका लागि मात्रै मौज्दात रहेको जनाउँदै नेपाल औषधि आयातकर्ता संघले भन्सारमा सहजीकरण गर्न सरकारलाई आग्रह गरेको छ। 

क्यान्सरको उपचारमा प्रयोग हुने प्लोटिनम समूहका औषधिहरूको बजारमा अभाव देखिएको छ। विशेष गरी किमोथेरापीमा प्रयोग हुने जीवनरक्षक औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’को अभाव देखिएको हो। 

यी दुवै औषधिको अभाव भएपछि स्वास्थ्य मन्त्रालयले औषधि आयातकर्ता संघलाई पत्राचार गरेर सहज आपूर्तिको व्यवस्था गर्न भनेको छ। मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले औषधि आयातर्कता संघलाई दुवै ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’सँगै नर्मल स्लाइन र डीएनएस जस्ता अत्यावश्यक औषधिको नियमति आपूर्ति तथा सहज उपलब्धता सुनिश्चित गर्न आग्रह गरेको हो।

सरकारको आग्रहपछि औषधि आयातकर्ता संघले बजारको अवस्थाबारे जानकारी लिएको अध्यक्ष पवन आचार्यले जानकारी दिएका छन्। अध्यक्ष आचार्यका अनुसार, जीवनरक्षक ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’लगायतका औषधिको प्राथमिक तहमा एक साताको मौज्दात रहेको छ। त्यस्तै, बजार तहमा दुई साताको मौज्दात रहेको छ। 

‘हाल संघको बुझाइअनुसार, उल्लेखित औषधिहरूको प्राथमिकत तहमा करिब एक हप्ताको तथा बजार तहमा बढीमा दुई हप्ताको मौज्दात मात्र रहेको छ, जसले अत्यधिक प्रयास गर्दा जम्मा तीन हप्तासम्म धान्न सक्ने अवस्था देखिन्छ,’ संघले भनेको छ। 

दुवै औषधि नेपालमा उत्पादन हुँदैनन्। पूर्ण रूपमा विदेशबाट आयात हुन्छ। दुवै औषधि फोक्सो, अण्डासय, पेट, स्तन, ठूलो आन्द्रा तथा सानो आन्द्रासहित विभिन्न प्रकारका क्यान्सर उपचारमा प्रयोग हुन्छ। 

संघका अनुसार, हाल विश्व बजारमा कच्चा पदार्थको मूल्यवृद्धि, विशेष गरी पश्चिमी मुलुकहरूमा जारी द्वन्द्वका कारण ढुवानी, बिमा, उत्पादन तथा आपूर्ति शृंखलामा गम्भीर असर परेको छ। त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेकाले क्यान्सरलगायत जीवनरक्षक औषधिहरूको मौज्दात अन्त्यन्त न्यून हुँदै गएको संघले जनाएको छ। 

यससँगै सरकारले एक दशभन्दा बढी समयदेखि औषधिको मूल्य समायोजन नगर्दा पनि असर परेको संघको भनाइ छ। ‘अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय मूल्यवृद्धि हुँदा समेत मूल्य समायोजन नहुँदा उत्पादक कम्पनीहरूले नेपाल सरकारले तोकेको पुरानो मूल्यमा औषधि आपूर्ति गर्न असमर्थ भएका छन्, जसले आयात प्रक्रियामा प्रत्यक्ष असर पारेको छ,’ संघले भनेको छ। 

अहिलेका लागि संघले अध्यक्ष आचार्यको नेतृत्वमा ‘रेसनल डिस्ट्रिब्युसन मनिटरिङ युनिट’ गठन गरेको छ। यस एकाइले बजारमा औषधिको पारदर्शी, न्यायोचित तथा समुचित वितरण सुनिश्चित गर्ने कार्य प्रारम्भ गरिएको संघले जनाएको छ। 

तर, दीर्घकालीन समाधानका लागि भने सरकारले मूल्य समायोजन गर्नुपर्ने संघको भनाइ छ। मूल्य समायोजन नगर्दासम्म आयातकर्तालाई निरन्तर औषधि आयात गर्न व्यावहारिक रुपमा सम्भव नहुने संघले जनाएको छ। 

यससँगै औषधिको तत्काल आपूर्तिमा सहयोग पुग्ने गरी भन्सार सहजीरकणका लागि व्यवस्था गर्न पनि संघले सरकारलाई अनुरोध गरेको छ। 
यसैबीच औषधि व्यवस्था विभागले पनि सूचना जारी गरी सहज आपूर्तिका लागि पहल गरिएको जनाएको छ। यसका लागि औषधिको उपलब्धता, मौज्दात अवस्था र आपूर्ति व्यवस्थाको निरन्तर अनुगमन भइरहेको विभागको भनाइ छ। 

यससँगै विभागले हरेक दिन औषधिको विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। औषधि उत्पादक, आयाताकर्ता तथा अस्पतालहरूलाई क्यूआर कोड स्केन गरी गुगल फर्ममार्फत प्रत्येक दिन बिहान १० देखि ११ बजेसम्म विवरण उपलब्ध गराउन पत्राचार गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad