काठमाडौँ उपत्यकाको समग्र शान्ति, सुरक्षा प्रभावकारी बनाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) ओमप्रसाद अधिकारी पुरस्कृत भएका छन्।
प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै उनलाई विशेष रूपमा सम्मान तथा पुरस्कृत गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
विशेषगरी चोरी, डकैती, लागुऔषध कारोबार, सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधि तथा विभिन्न आपराधिक घटनामा नियन्त्रण गर्न उनले सक्रियता बढाएको बताइएको छ।
त्यसैगरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी पनि पुरस्कृत भएका छन्। ट्राफिक प्रहरी प्रमुख अधिकारीले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न उल्लेखनीय भूमिका खेलेको जनाएको छ।
उनको नेतृत्वमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीमाथि कडाइ गर्नुका साथै सडक अनुशासन कायम गराउने अभियान प्रभावकारी बनेको थियो। विशेषगरी ट्राफिक जाम न्यूनीकरण, सवारी दुर्घटना नियन्त्रण, लेन अनुशासन लागू तथा आधुनिक प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन उहाँले महत्त्वपूर्ण पहल गरेको जनाइएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको सक्रियता बढेसँगै सवारी चालकमा ट्राफिक नियमप्रति सचेतनासमेत वृद्धि भएको बताइएको छ। सडकमा हुने जाम, जथाभावी पार्किङलगायतका समग्र अव्यवस्था न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ।
प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले समयसमयमा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको जनाएको छ। यसबाट प्रहरी सङ्गठनभित्र थप उत्साह र जिम्मेवारीबोध बढ्ने विश्वास गरिएको छ। रासस
Shares

प्रतिक्रिया