काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिका नाममा १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले आज सार्वजनिक सूचना प्रकाशित गर्दै गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालित ‘ग्लेक्सी फोरके टेलिभिजन’ रहेको घर खाली गर्नको लागि सञ्चालकका नाममा १५ दिने सूचना जारी गरेको हो।
काठमाडौँ महानगरपालिका-३ बस्ने मृगेन्द्र प्रसाद मिश्रले ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन भएको घर खाली गर्न गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्र बाबु राईविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए।
अदालतले २८ साउन २०८२ मै घरजग्गाको बहाल रकम असुल उपर गरी घर खाली गर्न आदेश दिएको थियो।
त्यतिबेला अदालतले काठमाडौँ महानगरको न्यायिक समितिको नाममा पनि परमादेश जारी गरेको थियो। सोही अनुसार महानगरले गोरखा मिडिया नेटवर्कको नाममा घर खाली गर्न १५ दिने सूचना जारी गरेको हो।
‘काठमाडौँ महानगरपालिका वडा नम्बर ३ बस्ने वादी मृगेन्द्र प्रसाद मिश्र समेत प्रतिवादी गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राई भएको ‘भाडा असुल उपर गरी घर जग्गा खाली गराई पाऊ’ भन्ने मुद्दामा काठमाडौँ महानगरपालिका न्यायिक समितिबाट मिति २०८१ कात्तिक १४ गते वादी दाबी बमोजिमको घर जग्गाको बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भराई घरजग्गा समेत खाली गराइदिने ठहर्छ भनी निर्णय भई मिति २०८२ साउन २८ गते श्री उच्च अदालत पाटनबाट २ महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्नू भनी काठमाडौँ महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी भएकोले अदालतको आदेश बमोजिम मिति २०८२ कात्तिक १४ गते कामपा कार्यालयबाट डोर खटी गई निर्णय कार्यान्वयन गरिएको थियो,’ सूचनामा भनिएको छ, ‘निर्णय कार्यान्वयन गरेको ६ महिना पूरा भएकोले ग्लोक्सी फोरकेमा भएको सामानहरू लिलाम गरिपाऊँ भनी वादी मृगेन्द्र मिश्रको मिति २०८३ वैशाख २१ मा निवेदन पेश भएकोले यो सूचना प्रकाशन गरिएको छ। अतः यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र घरधनी वादीलाई बुझाउनुपर्ने बहाल रहम बुझाई आफ्नो सरसमान लैजान यो सूचना प्रकाशित गरिएको हुँदा म्यादभित्र आफ्नो ग्लोक्सी फोरके टेलिभिजन सम्बद्ध सरसमान लगी घर खाली गर्न अन्तिम सूचना प्रकाशित गरिएको छ। यस बमोजिमको समायवधिभित्र कानून बमोजिम सरसमान नलगेमा काठमाडौँ महानगरपालिका विवाद निरुपण ९कार्यविधि० ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम भइजाने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ।’

Shares

प्रतिक्रिया