नुवाकोटमा बिहीबार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा बिएई ०५६९ नम्बरको विद्युतीय कार दुर्घटनामा परेको हो।
दुर्घटनामा सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्। साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा उनको सनाखत गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका सुनसरीको इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडौँ महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
गुडिरहेको जिप अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो। स्थानीयवासीको सहयोगमा प्रहरीले जङ्गल क्षेत्र र अँध्यारो अवस्थाका बाबजुद शीघ्र उद्धार गरेर घाइतेलाई उपचारका लागि काठमाडौँ पठाएको थियो।
Shares

प्रतिक्रिया