नेपालमा आज १९ औँ गणतन्त्र दिवस मनाइँदैछ। गणतन्त्र विदसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको आज १९ वर्ष भएको छ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।
सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ।
जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो। गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो।
यसैबिच गणतन्त्र दिवसका अवसरमा सरकारले आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्दै छ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहसहितको उपस्थितिमा गणतन्त्र दिवस समारोह हुन लागेको हो। समारोहमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने तयारी छ।
प्रधानमन्त्री शाहले समारोहमा सम्बोधन नगर्ने भएपछि सरकारले समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई पत्राचार गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गराएर प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई गणतन्त्र दिवसको समारोहमा सम्बोधनका लागि अनुरोध गरेका थिए।
मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति पौडेलले समारोहमा सम्बोधन गर्ने तयारी छ।
गणतन्त्र दिवसका दिन जेठ १५ गते विशेष समारोह आयोजना हुँदै आएको छ। सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका थिए।
यस पटकको गणतन्त्र दिवस समारोहमा भने प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिलाई सम्बोधन गर्नका लागि अनुरोध गरिएको हो। गणतन्त्र दिवस समारोहलाई सम्बोधन नगरे पनि प्रधानमन्त्री शाह सहभागी हुने स्रोतको भनाइ छ।
Shares

प्रतिक्रिया