समाज


मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन आग्रह

मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन आग्रह

नेपालखबर
असार ९, २०८३ मंगलबार १७:१५, काठमाडौँ

शान्तिका लागि साझा अभियान (कोक्याप) का अध्यक्ष पुष्प भुसालले मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन निर्माण गरि कार्यन्वयन कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

काठमाडौँमा सम्पन्न ‘मानव अधिकार रक्षक सम्बन्धी राष्ट्रिय सम्मेलनः संरक्षण, एकवद्धता र न्यायको सुदृढीकरण–समुदायदेखि नीति निर्माणसम्म’ कार्यक्रममा सहभागी मानव अधिकार रक्षकहरूको तर्फबाट जारी गरिएको १० बुँदे ‘काठमाडौँ घोषणापत्र २०२६’ सार्वजनिक गर्दै अध्यक्ष भुसालले यस्तो बताएका हुन्।

उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार मानव अधिकार रक्षकहरूको पहिचान र सुरक्षासम्बन्धी एकीकृत कानून निर्माण गरी लागू गर्नुपर्ने बताए। मानव अधिकार रक्षकहरू अझै पनि विभिन्न प्रकारका जोखिम, धम्की, दुर्व्यवहार र हिंसाको छायामा काम गर्न बाध्य रहेको उनको भनाई छ।

नेपालमा मानव अधिकारका कार्यहरू स्वतन्त्र र सुरक्षित रूपमा सञ्चालन गर्न नदिने, शारीरिक तथा मानसिक दबाब दिने, डिजिटल निगरानी, कानुनी संयन्त्रको दुरुपयोग गर्ने कार्य बढेको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला, धर्ना र प्रदर्शनको अधिकारसहित नागरिक स्पेसको संरक्षण गर्न सरकारसंग माग गरे।

महिला, दलित, आदिवासी जनजाति, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका क्षेत्रका मानव अधिकार रक्षकहरूका लागि विशेष संरक्षणका उपायहरू अवलम्बन गर्न तथा उनीहरूको जोखिम न्युनिकरणका लागि संवेदनशील नीति लागू गर्न उनले आग्रह गरे।

मानव अधिकार उल्लंघनका घटनाहरूको विश्वसनीय अभिलेखीकरण र प्रमाण संरक्षणका लागि केन्द्रीयस्तरको अभिलेख कार्यालय स्थापना गर्न पनि उनले सरकारसँग आग्रह गरे। सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत फैलाइने मिथ्या, भ्रामक, कपोलकल्पित तथा अतिरञ्जित सूचनाका कारण मानव अधिकार उल्लंघन हुने गरेको उल्लेख गर्दै उनले यस्ता प्लेटफर्महरूको प्रभावकारी नियमन गर्न सरकारसंग माग गरे।

यद्यपि नियमन गर्दा नागरिक समाज, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग समन्वय गर्नुपर्ने उनको भनाई छ।

उनले भने, ‘मानव अधिकार रक्षकहरूले भयरहित तथा निष्पक्ष किसिमले काम गर्नका लागि अत्यावश्यक पर्ने पूर्ण विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा शान्तिपूर्ण भेला, धर्ना र प्रदर्शनीको स्वतन्त्रतासहित नागरिक स्पेसको संरक्षण गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । सङ्घीय सरकारबाट अन्तर्राष्ट्रिय मापदण्डअनुरूप मानव अधिकार रक्षकहरूको पहिचान र सुरक्षा सम्बन्धी वृहत्तर एकीकृत कानुन तर्जुमा गरी लागू गरियोस्।’

घोषणापत्रमा मानव अधिकार क्षेत्रमा कार्यरत संघसंस्था तथा सरोकारवालालाई अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि, राष्ट्रिय मञ्चहरूसँग जोड्ने तथा विकसित सुरक्षा चुनौतीहरूको सामना गर्न एकवद्धता प्रदर्शन गर्न अपिल गरिएको छ। साथै भौतिक तथा अनलाइन माध्यमबाट हुने सबै प्रकारका दुव्र्यवहार अन्त्य गर्न माग गरिएको छ।

घोषणापत्रमा मानव अधिकार रक्षकहरूलाई सरकारको विरोधी नभई संविधान, कानून, नीति तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार राज्यका प्रतिवद्धताहरू कार्यान्वयन गर्न सहयोगी र सहजकर्ताका रूपमा बुझ्न सरकार र सरकारी संयन्त्रलाई आग्रह गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगलाई मानव अधिकार रक्षक सम्बन्धी निर्देशिकाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न, समुदायस्तरसम्म पुगेर अनुगमन तथा दस्तावेजीकरण गर्न तथा स्वतन्त्र र सक्रिय संरक्षण संयन्त्र सञ्चालन गर्न समेत आग्रह गरिएको छ।

अग्रपंक्तिमा काम गर्ने मानव अधिकार रक्षकहरूका लागि मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग, संस्थागत एकवद्धता र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न एकीकृत संयन्त्र स्थापना गर्नुपर्ने आवश्यकता घोषणापत्रले औँल्याएको छ। सम्मेलनमा सहभागी मानव अधिकार रक्षकहरूले न्यायका लागि हुने संघर्ष सामूहिक हुने र कुनै एक मानव अधिकार रक्षकमाथिको खतरा सम्पूर्ण अधिकार रक्षक तथा नागरिक अधिकारमाथिको खतरा हुने औल्याएका छन्।

उनीहरूले काठमाडौँ घोषणापत्र २०२६ को कार्यान्वयन, अनुगमन र समुदायदेखि राष्ट्रिय नीतिसम्म एकवद्धताको सुदृढीकरणमा निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

सम्मेलनले मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, मानव अधिकार रक्षक सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र १९९८, अन्तर्राष्ट्रिय मानव अधिकार कानून, अन्तर्राष्ट्रिय मानवीय कानुन तथा नेपालको संविधानप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad