एक स्थानमा तीन वर्ष स्थायी पढाएका शिक्षक अर्को सामुदायिक विद्यालयमा सरुवा हुन पाउने व्यवस्था गरिएको छ।
बिहीबार सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१०) औँ संशोधनले स्थायी सेवा अवधि तीन वर्ष पूरा भएको शिक्षकलाई एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरूवा हुन सक्ने व्यवस्था गरेको हो।
तर अपांग, अरूको सहायतामा हिँडडुल गर्नुपर्ने अशक्त, गर्भवती र दुई वर्षभन्दा कम उमेरको बच्चा भएको महिलाको हकमा भने यो नियम लागू हुने छैन।
सरुवा गर्दा आधारभूत तहको कक्षागत शिक्षकलाई समान तहको रिक्त पदमा, आधारभूत तहको विषयगत र माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र शिक्षक सरूवा गर्नुपर्ने प्रावधान नियमावलीमा राखिएको छ।
यस्तै सामुदायिक विद्यालयका लागि सरकारबाट स्वीकृत भई दरबन्दीमा कार्यरत शिक्षक सरूवा भई अन्यत्र गएमा, अनिवार्य अवकाश भएमा, मृत्यु भएमा, स्वेच्छिक अवकाश लिएमा, प्रचलित कानुनबमोजिम सेवाबाट हटाइएको, बर्खास्त गरिएको सूचना विद्यालयमा प्राप्त भएमा वा नयाँ दरबन्दी थप भएको अवस्थामा शिक्षक पद रिक्त भएको मानिने भएको छ।
रिक्त शिक्षक पदको विवरण केन्द्रको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विद्यालयले प्रविष्टी गरी पद रिक्त भएको मितिले सात दिनभित्र सम्बन्धित स्थानीय तहलाई लिखितरूपमा अनिवार्य जानकारी दिनुपर्ने प्रावधान नियमावलीमा राखिएको छ।
दरबन्दी मिलान गर्दा दरबन्दी कटौतीमा परेका वा खुद पुल दरबन्दी कायम भई अन्यत्र स्थानान्तरण गर्नुपर्ने दरबन्दीको हकमा त्यस्तो दरबन्दीको व्यवस्थापन नभएसम्म सरुवा गर्न पाइने छैन।
रिक्त शिक्षक पदमा सरुवा भई आउन चाहने सम्बन्धित तह र विषयका इच्छुक स्थायी शिक्षकले आफू कार्यरत विद्यालयको विद्यालय व्यवस्थापन समिति र सम्बन्धित स्थानीय तहको सहमति सहित विद्युतीय माध्यम वा स्वयं आफैँ उपस्थित भई सम्बन्धित विद्यालयमा निवेदन दिन सक्ने प्रावधान राखिएको छ। सरुवा गर्दा विज्ञापन भएको र समायोजनमा परेको पदमा सरुवा शिक्षक सरुवा गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ।
त्यस्तै शिक्षकहरूका लागि दिइँदै आइएको लामो अवधिको बिदा ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ।
विद्यालयले देहाय बमोजिम प्राथमिकताक्रम निर्धारण गर्नुपर्नेछ:
(क) शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २९ बमोजिम ज्येष्ठता बापत ३५, नियम ३० अनुसार शैक्षिक योग्यता वापत २० र नियम ३१ अनुसार तालिम वापत १० समेत गरी जम्मा ६५ पूर्णाङ्कमा गणना गरी सबैभन्दा बढी अङ्क प्राप्त गरेका आधारमा ।
(ख) खण्ड (क) बमोजिम प्राथमिकताक्रम निर्धारण हुन नसकेमा हालको पदमा सबैभन्दा बढी स्थायी सेवा गरेको जम्मा अवधिका आधारमा ।
(ग) खण्ड (क) र (ख) बमोजिमसमेत प्राथमिकताक्रम निर्धारण हुन नसकेमा हालको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो तहको सम्बन्धित विषयको शैक्षिक योग्यताको प्राप्ताङ्कको प्रतिशत वा ग्रेडको आधारमा ।
(घ) खण्ड (क), (ख) र (ग) बमोजिम समेत प्राथमिकताक्रम निर्धारण हुन नसकेमा श्रीमान श्रीमती मध्ये कुनै एक जना स्थानीय तहमा स्थायी शिक्षक पदमा कार्यरत भएमा ।
(ङ) दुई वर्षभन्दा कम उमेरको बच्चाको आमा मध्येबाट एकभन्दा बढीको निवेदन परेको भए कम उमेरको बच्चाको आधारमा ।
(च) खण्ड (क), (ख), (ग), (घ) र (च) बमोजिमसमेत प्राथमिकताक्रम निर्धारण हुन नसकेमा गोलाप्रथाबाट छनोट गरेको आधारमा ।
Shares

प्रतिक्रिया