नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाइँ गरिरहेका बेला पहिरोले खेत बगाएको छ।
स्थानीय नोमराज भट्टको खेतमा रोपाइँ गरिरहेका बेला सोमबार एक्कासि ठूलो पहिरो गएको हो। पहिरोमा परेर ६ जना घाइते भएका छन्।
घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर रहेको छ। उनलाई जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको छ। भट्टको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।
अन्य सामान्य घाइतेको स्थानीय चारघेर उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ।
पहिरोले खेत बगाएको नोमराजका छोरा रामशरणले बताए। ‘करिब सात रोपनी खेत बगायो, खेत पूरै भीरजस्तो भएको छ’, रामशरणले भने।
पहिरो खसेको देखेपछि धेरै किसान भागेकाले ज्यान जोगिएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ।
69
Shares

प्रतिक्रिया