दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक युवतीले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन्।
वडा २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयमा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा बस्दै आएकी सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्म दिएकी हुन्।
मीनालाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा लगिएको थियो। राति साढे ९ बजेतिर उनले छोरीलाई जन्म दिएकी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले बताएका छन्।
मीना र उनका श्रीमान् मनबहादु यही जेठ १० गते भारतको कुरदुवारबाट ठाटीकाँध आएका थिए। नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य अवस्था सामान्य रहेको र आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मी रावतले जानकारी दिए। रासस

प्रतिक्रिया