सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा गर्न थालेको छ।
दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बाँध्ने र बाटो बनाउनेजस्ता कार्य गरेका कारण दुई देशलाई छुट्याउने दशगजाको भूमि अतिक्रमणको चपेटामा परेको हो।
सर्लाहीको साविकको सङ्ग्रामपुर, त्रिभुवन नगर, मधुवनीगो, मलंगवा, हरिपूर्वा, भाँडसर, बलरालगायत ५१ किलोमिटर क्षेत्रमा गाडिएका जंगेपिलर, सहायक पिलर र केही साना पिलर नेपाल-भारत दुवै देशका नागरिकले अतिक्रमणको कारण ढल्ने अवस्थामा पुगेका छन्।
दुई देशबीचको सीमा छुट्याउन सर्लाहीमा गाडिएका तीन सय १५ पिलरमध्ये आठ जंगेपिलर, २० सहायक पिलर र एक सय ४० वटा सानापिलर अत्यन्तै जीर्ण अवस्थामा पुगेका दुई साना पिलर हराएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पूर्वमा सङ्ग्रामपुरबाट पश्चिममा बलरा नगरपालिकासम्मको ५१ किलोमिटर दशगजाको ११ स्थानमा अतिक्रमण छ। बलरा नगरपालिका–४ मा दुवैतर्फबाट दशजगा अतिक्रमण गरी घर बनाउँदा साना पिलर घरभित्र परेका छन्।
‘घर बनाएर बस्न कतै खाली जग्गा छैन, सानो छाप्रो बनाएर बसेको छु, भत्काउन परे पनि कुनै चिन्ता छैन। छाप्रोभित्रै पिलर परेको छ’, स्थानीय अक्लेश सहनीले भने।
दशगजा क्षेत्रमा दुवै देशले ३०–३० फिट दायाँबायाँ कुनै पनि कार्य गर्न वा घर टहरा बनाई अतिक्रम गर्न निषेधित गरिएको छ। सीमा स्तम्भलाई सुरक्षित बनाउन दुवै देशको बराबर दायित्व भए पनि चासो नदेखाएका कारण अधिकांश स्तम्भ जीर्ण अवस्थामा पुगेका हुन् भने कतिपय भत्काइएका छन्।

प्रतिक्रिया