सोमबार प्रदर्शनकारीले प्रहरीको गाडी लजाएका छन् भने प्रहरीमाथि ढुंगा मुढा प्रहार गरेका छन्। अमेरिकाभर यतिबेला रंगभेदविरुद्धको आन्दोलन चर्किएको हो।
आन्दोलनको फाइदा उठाउँदै त्यहाँ चोरी र डकैतीका घटना पनि बढेका छन्। सार्वजनिक भएका भिडियो तथा फोटोहरुमा मानिसहरुले दोकान फुटाएर ल्यापटप, मोबाइल तथा खाद्यान्न बस्तुहरु लुटपाट गरेको देखिएको छ।
यसैबीच सोमबार राति मिसौरी राज्यमा प्रदर्शनकारीको भिडबाट गोली चल्दा चार प्रहरी घाइते भएका छन्।
सीएनएनका अनुसार सेन्ट लुइस पुलिस डिपार्टमेन्टका प्रहरीहरु घाइते भएका छन्। यतिबेला उनीहरुको अस्पतालमा उपचार भइरहेको छ।
(लुटपाटको भिडियो)
हिंसा भड्किएपछि अमेरिकाका ४० शहरमा यतिबेला कर्फ्यु लगाइएको छ। न्युयोर्क, सिकागो, फिलाडेल्फिया र लस एन्जलेसमा दंगा प्रहरी र प्रदर्शनकारीबीच हात हालाहाल भएको छ।
भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास तथा प्लास्टिकका गोली प्रहार गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थिती नियन्त्रणमा लिन सेना परिचालन गर्ने बताइसकेका छन्।
यो पनि: ‘हथकडी लगाइएका फ्लोएडले सास फेर्न गाह्रो भो भनेका थिए, प्रहरीले घाँटी थिचिरहे’
प्रहरीको नियन्त्रणमा रहेका बेला फ्लोएडको मृत्यु भएको थियो। प्रहरीले हथकडी लगाएकै अवस्थामा फ्लोएडको घाँटीमा घुँडाले ८ मिनेटसम्म थिचेका थिए।
सास फेर्न नसक्दा उनको मृत्यु भएको थियो। यसबीचमा अमेरिकाभर रंगेभदविरुद्ध आन्दोलन चर्किएको हो।
कोरोना भाइरसको प्रकोपबाट गुज्रिएको अमेरिका यतिबेला रंगभेदविरुद्धको आन्दोलनले अशान्त बनेको छ। एजेन्सी

Shares

प्रतिक्रिया