धादिङको त्रिपुरासुन्दरीमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङका एकै घरका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काले जानकारी दिए।
खड्काका अनुसार मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँड, उनकी पत्नी २२ वर्षीया सम्झना र छोरी दुई वर्षीया अञ्जिता छन्। मध्यराति आएको पहिरोले घर पुर्दा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।
‘रातिको घटना हो, हामीलाई मंगलबार बिहान साढे चार बजे खबर आयो,’ डिएसपी खड्काले नेपालखबरसँग भने, ‘तीनै जनाको शव पहिरोबाट निकालेर पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य चौकी कल्याणटार पठाएका छौँ।’
खाँड परिवारमा तीनजना मात्रै थिए। वरपरका अन्य घरमा भने पहिरोले कुनै क्षति नगरेको खड्काले बताए।

प्रतिक्रिया