समाज


देशकै सर्वाधिक संक्रमित उपत्यकामा भेटिँदै, सेरोलजिकल टेस्ट गर्न सुझाव

देशकै सर्वाधिक संक्रमित उपत्यकामा भेटिँदै, सेरोलजिकल टेस्ट गर्न सुझाव

यज्ञराज जोशी
भदौ १, २०७७ सोमबार १०:४९,

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च बनेको छ। अन्य प्रदेशहरुभन्दा उपत्यकामा बढी संक्रमित फेला पर्न थालेपछि यहाँ जोखिम बढेको हो।

आइतबारमात्रै काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको थियो।

आइतबार उपत्यकामा देशकै सर्वाधिक संक्रमित भेटिएका हुन्। उपत्यकापछि आइतबार प्रदेश २ को बारामा ६९, पर्सा ६४ र रुपन्देही ५८ जनामा संक्रमण पुष्टि भएको थियो।

हाल काठमाडौं उपत्यकामा १ हजार ९ सय ६७ संक्रमित छन्। काठमाडौंमा १ हजार ५ सय ६७ ललितपुरमा २ सय ६८ र भक्तपुरमा १ सय ३२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। काठमाडौंमा १ हजार ४ सय २९, भक्तपुरमा १ सय र ललितपुरमा १ सय ९३ जना सक्रिय संक्रमित छन्।

यही तरिकाले उपत्यकामा कोरोना संक्रमण बढ्दै जाने हो भने आगामी दिनमा थप जटिलता आउने मन्त्रालयका प्रवक्ता गौतमले बताए।

‘काठमाडौं उपत्यकामा दिनहुँ केस बढ्दै जानु खतराको संकेत हो। यही क्रम जारी रहे भोलिका दिनमा अझ जटिल अवस्था आउन सक्छ,’ उनले भने, ‘कोरोनाको कुनै उपचार छैन। यसको रोकथाम भनेकै हाम्रो व्यवहार हो। आफूबाहेक अरुलाई संक्रमण छ भनेर सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुप¥यो।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अघिल्लो हप्ता सार्वजनिक गरेको राष्ट्रिय तथा प्रदेशगत रिपोर्टअनुसार प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ मा संक्रमण दर बढ्दो क्रममा रहेको र ठूलो संख्यामा संक्रमितहरु भेटिन थालेको छ।

पाँच दिनअघि सार्वजनिक रिपोर्टअनुसार काठमाडौं उपत्यका उच्च जोखिममा छ। बागमती प्रदेशमा यात्रा विवरण नभएका लक्षणसहितका संक्रमित पनि भेटिनेक्रम जारी छ।

बागमती प्रदेशमा हालसम्म एक चिनियाँसहित १७ जनाको निधन भइसकेको छ। यहाँ १ सय ११ जना संक्रमितहरु होम आइसोलेसनमा छन् भने ४७ जना आईसीयू तथा ६ जना भेन्टिलेटरमा उपचाररत छन्।

महाशाखाका निर्देशक तथा भाइरोलोजिस्ट डा.वासुदेव पाण्डे लकडाउन खुलेपछि उपत्यकामा बाहिरका मानिसहरु आउने क्रम ह्वात्तै बढेको र संक्रमित थपिएको बताए।

‘लकडाउन खुलेपछि कार्यालय, बजार, उद्योगधन्दा खुले। तराई तथा भारतबाट कामदारहरु आउने क्रम पनि बढ्यो,’ उनले भने, ‘अहिले उपत्यकामा देखिएका संक्रमित अधिकांश त्यसरी बाहिरबाट आएकाहरु हुन्। उनीहरुको सम्पर्कमा आएकाहरुमा पनि संक्रमण भेटिएको छ।’

जोखिम बढेको भन्दै सरकारले उपत्यकाका नाकाहरुबाट अत्यावश्यक बाहेक आवागमन निषेध गरिएको छ। यस्तै उपत्यकाका विभिन्न २५ स्थानमा स्थानीय निकायले सिल समेत गरेका छन्।

सरकारले सोमबारबाटै खोल्ने तयारी गरेको हवाई यातायात, विद्यालय भर्ना लगायतका कार्यक्रम पनि स्थगित गरेको छ। उपत्यकाका तीनैवटै प्रशासन कार्यालयले पनि यहाँ हुने जात्रा, महोत्सव नगर्न र भीडभाड नबढाउन अनुरोध गरिसकेको छ।

संक्रमणको आशंकामा निजी प्रयोगशालामा सशुल्क परीक्षण गराउनेको संख्यामा वृद्धि हुँदै गएको छ। आइतबारमात्रै उपत्यकाका आठ निजी प्रयोगशालामा परीक्षण गराएकामध्ये ७६ जनामा संक्रमित पुष्टि भएको थियो।

उपत्यकामा साउन २७ गते १ सय ३३, साउन २८ गते १ सय ३८, साउन २९ गते १ सय २७, साउन ३० गते १ सय १९, साउन ३१ गते ९७ र साउन ३२ गते १ सय ७२ जनामा संक्रमण देखिएको थियो।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे चाडबाड नजिकिँदै गएकाले उपत्यकामा थप संक्रमित बढ्नसक्ने बताउँछन्। उनले तीज, कुशे औँसी लगायत ाडपर्व तथा जात्राहरु घरमै मनाउन सुझाव दिए।

सेरोलजिकल टेस्ट गर्न सुझाव
संक्रमण रोग विशेषज्ञ डा. प्रभात अधिकारीले उपत्यकाका जोखिम कुन हदसम्म पुगेको छ भनेर अध्ययनका लागि सेरोलजिकल टेस्ट र पुल परीक्षण गर्नुपर्ने सुझाव दिए।

शंकास्पद स्थानका विभिन्न व्यक्तिहरुको रगतको नमुना लिई उनीहरुको शरिरमा कोरोनाभाइरसविरुद्ध एन्टिबडी बनेको–नबनेको अध्ययन गर्न सेरोलजिकल टेस्ट गरिन्छ। सेरोलजिकल टेस्टबाट यदि कुनै समुदायका धेरै व्यक्तिमा एन्टिबडी उत्पन्न भएको देखिए त्यस स्थानमा पुल टेस्टिङ गर्नुपर्ने उनको भनाइ छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेले पनि सेरोलजिकल टेस्ट गर्ने योजना रहेको बताए। तर कहिलेबाट सुरु गर्ने तय नभइसकेको उनलेब बताए।

पछिल्लो दुई हप्तामा उपत्यकाका दैनिक भेटिएका संक्रमित
साउन १९– ५१
साउन २०– ६२
साउन २१– ६२
साउन २२– ८७
साउन २३– १०६
साउन २४– ६२
साउन २५– ९२
साउन २६– ४४
साउन २७– १३३
साउन २८– १३८
साउन २९– १२७
साउन ३०– ११९
साउन ३१– ९७
साउन ३२– १७२

भाद्र १- १६८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .