समाज


नेपालमा कोरोना संक्रमितमध्ये ५–७ प्रतिशत सम्पर्कमै आएका छैनन्, किन?

नेपालमा कोरोना संक्रमितमध्ये ५–७ प्रतिशत सम्पर्कमै आएका छैनन्, किन?

यज्ञराज जोशी
भदौ १२, २०७७ शुक्रबार ११:२८,

काठमाडौं उपत्यकामा संक्रमितहरुको संख्या निरन्तर बढिरहेको छ। यससँगै प्रयोगशालाबाट संक्रमण पुष्टि भएपछि पनि सम्पर्कमा नआउने संक्रमितहरुको संख्या बढिरहेको छ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमितहरु सम्पर्कमा नआउँदा त्यसले सामाजमा झनै संक्रमण फैलिने जोखिम बढेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका कोभिड फोकल पर्सन डा.पुरुषोत्तमराज सेढाइले बताए।

बागमती प्रदेशमा कोरोना संक्रमितको तथ्यांक संकलन गर्ने जिम्मेवारीमा रहेका सेढाइले अहिलेपनि संक्रमण पुष्टि भएकामध्ये ५–७ प्रतिशत सम्पर्कविहीन हुने गरेको बताए।

‘कतिपयको नम्बर नमिल्ने, कतिपयले नउठाइदिने, कतिपयले फोन उठाएर पनि होइन भन्ने गरेको भेटिएको छ। अहिलेपनि संक्रमण पुष्टि भएकामध्ये ५–७ प्रतिशत सम्पर्कविहीन हुने गरेका छन,’ उनले भने।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले ठोस तथ्यांक नभएपनि केही कोरोना संक्रमितहरु सम्पर्कविहीन हुनेक्रम नरोकिएको बताए। त्यसो हुनुको मुख्य कारण बिरामीप्रति सामाजले गर्ने घृणाजन्य व्यवहार भएको उनले बताए।

‘ठेगाना, टेलिफोन नम्बर नै गलत लेखिदिएपछि कहिलकाहीँ संक्रमित भेट्टाउन गाह्रो हुन्छ। आफूलाई रोग देखिए वरिपरि छरछिमेकले के भन्ने हुन्? सामाजबाट दुव्र्यवहार पो भोगिने हो कि? भन्ने आशंकाले केही संक्रमितले नम्बरै गलत दिने, ठेगाना गलत राख्ने गरेका छ,’ डा. पाण्डेले भने, ‘संक्रमित भएको लुकाउँदा आफू र आफ्नो परिवारलाई नै जोखिम पर्ने भएकाले लुकाउनु हुँदैन। समाजले पनि बिरामीहरुप्रति घृणाभाव देखाउनुभएन।’

कन्ट्याक्ट ट्रेसिङमा पनि समस्या
प्रयोगशालाले सुरुमा बिरामीको रिपोर्ट महाशाखामा दिन्छ। महाशाखाले संक्रमितहरुको अध्ययन गर्दै कन्ट्याक्ट ट्रेसिङका लागि स्थानीय निकायलाई खटाउने गरेको छ।

कन्ट्याक्ट ट्रेसिङका लागि स्थानीय तहमा खटिने स्वास्थ्यकर्मीहरुले पनि संक्रमितले विवरण लुकाउँदा समस्या पर्ने गरेको बताए। काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित देखिएको वडा नम्बर ३२ की स्वास्थ्यकर्मी मैयाँ सैजुले कतिपय संक्रमितले आफू गएको स्थानको विवरण नदिँदा र कतिसँग सम्पर्क नै हुन नसक्दा कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन नसकेको बताइन्।

‘कोहीकोही बिरामीले समाजले थाहा पाएर नराम्रो मान्छ कि भनेर विवरण दिँदैनन्। फोनै उठाउँदैनन,’ उनले भनिन्, ‘कति पोजिटिभ आएका व्यक्तिले समुदायमा गएकै छैन। कसैसँग सम्पर्कै छैन भन्दिन्छन्। उनीहरु त्यसो भनेपछि हामी जबर्जस्ती समुदायमा गएर परीक्षण गर्न पनि सम्भव हुँदैन।’

यस्तै उपत्यकाको अर्को हटस्पट असन, भोटाहिटी, महाबौद्ध क्षेत्र पर्ने वडानम्बर २७ की स्वास्थ्यकर्मी मनिषा श्रेष्ठले पनि संक्रमितहरु दिनदिनै बढ्दै गएको तर जनशक्ति अभावमा चाँडै कन्ट्याक्टमा आएकाहरुलाई पहिचान गरी छुट्टाउन नसकिएको बताइन्।

‘हाम्रो वडामा ६० जना संक्रमित भेटिसक्नुभएको छ। संक्रमितको संख्या रोकिनेक्रम छैन,’ उनले भनिन्, ‘जनशक्ति अभावमा दिनदिनै संक्रमित थपिँदै जाँदा उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको विवरण संकलन गरी कन्ट्याक्ट ट्रेसिङ गर्न समस्या पर्ने गरेको छ।’

वडा नम्बर १४ ले सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्नुअघि नै वडा सिल गरेको थियो। कुलेश्वर क्षेत्रको फलफूल पसल, बल्खु क्षेत्रको तरकारी पसल पनि यही क्षेत्रमा पर्छ।

हालसम्म तरकारी, फलफूल व्यापारीसहित वडामा ८५ जनाभन्दा बढीमा संक्रमण भेटिसकेको वडाका स्वास्थ्यकर्मी ध्रुव श्रेष्ठले बताए। तर संक्रमित फलफूल तथा तरकारी व्यापारीसँग दैनिक थुप्रो मानिसहरुको सम्पर्क हुने भएकाले सबैलाई कन्ट्याक्ट ट्रेसिङको दायरामा ल्याउन नसकिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .