महोत्तरीमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
महोत्तरीको मनरासिसवा ४ का ४० वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको जानकारी प्राप्त भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए।
उनका अनुसार स्थानीय स्तरमै निजी क्लिनिक सञ्चालन गरेका ती स्वास्थ्यकर्मीको भदौ १२ गते वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।
उनी भदौ ७ गतेदेखि बिरामी परेका थिए। स्वास्थ्य अवस्था अत्यन्तै खराब भएपछि उनलाई थप उपचारको लागि धरान लगेपछि मृत्यु भएको हाे।
उनकी श्रीमती समेत कोरोना संक्रमित भएको र उनको पनि धरानमै उपचार भइरहेको जानकारी पाएको बरिष्ट अधिकृत झाले बताए।
कोरोना संक्रमणकै कारण ती स्वास्थ्यकर्मीको मृत्यु भएको तर थप विस्तृत जानकारी बुझ्ने कार्य भइरहेको उनले बताए।

प्रतिक्रिया