समाज


संक्रमणको अवस्था पत्ता लगाउन समुदायमा एन्टिबडी परीक्षण गरिँदै

संक्रमणको अवस्था पत्ता लगाउन समुदायमा एन्टिबडी परीक्षण गरिँदै

यज्ञराज जोशी
भदौ १८, २०७७ बिहिबार ११:३५,

कोरोनाभाइरसको संक्रमण समुदायमा फैलिएको छ कि छैन भन्ने अध्ययन गर्न एन्टिबडी टेस्ट गरिने भएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायबाट मानिसहरुको रगतको नमुना लिई त्यसमा भाइरससँग लड्ने क्षमता विकास भए–नभएको अध्ययन गर्न लागेको हो।

यसरी विभिन्न समुदायबाट लिइएका रगतको नमुनामध्ये कुनै ठाउँमा धेरै एन्टिबडी देखिए उक्त ठाउँमा व्यापक परीक्षण गरी भाइरस समुदायमा फैलिएको छ या छैन, टुंगो लगाइने महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए।

समाजका हरेक समूहका मानिस संक्रमित हुन थालेको तथा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ।

‘पहिले ट्राभल हिस्ट्री भएका र बाहिरबाट आएमा मानिसमा मात्र संक्रमण देखिएको थियो। तर अहिले ट्राभल हिस्ट्री नभएका र समुदायमा रहेका व्यक्ति पनि संक्रमित भएका छन्,’ डा. पाण्डेले भने, ‘संक्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ। अब अध्ययन गरेपछि मात्र त्यसको पुष्टि हुन्छ।

महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा एन्टिबडी परीक्षण गरी अध्ययन गर्न थालेको हो। पाण्डेले यसैहप्ताभित्र कर्मचारी छनोट गर्ने र तिनलाई तालिम दिएर सातवटै प्रदेशमा रगत संकलनका लागि पठाउने तयारी भएको जानकारी दिए।

सबै ठाउँमा नमुनाका रुपमा निश्चित संख्यामा महिला, पुरुष, बालबालिका र वृद्ध सबैको नमुना लिइने छ। तर कति संख्यामा परीक्षण गर्ने भन्ने टुंगो नलागिसकेको उनले बताए।

सातवटै प्रदेशबाट संकलन भएको रगतको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिने पाण्डेले बताए।

संक्रमण रोग विशेषज्ञ डा. प्रभात अधिकारीले समुदायमा संक्रमणको जोखिम कुन हदसम्म पुगेको छ भनेर अध्ययनका लागि सेरोलजिकल भनिने एन्टिबडी टेस्ट उपयुक्त विधि भएको बताए।

‘शंकास्पद स्थानका विभिन्न व्यक्तिहरुको रगतको नमुना लिई उनीहरुको शरीरमा कोरोनाभाइरसविरुद्ध एन्टिबडी बनेको–नबनेको अध्ययन गर्न यो टेस्ट गरिन्छ,’ उनले भने, ‘यस टेस्टबाट यदि कुनै समुदायका धेरै व्यक्तिमा एन्टिबडी उत्पन्न भएको देखिए त्यस स्थानमा पुल टेस्टिङ गरेर त्यहाँको अवस्थाबारे जानकारी पाउन सकिन्छ।’

नेपालमा हाल झुण्ड झुण्डमा संक्रमण देखिएको तर समुदायस्तरमा संक्रमण नफैलिसकेको सरकारी अधिकारीहरु दाबी गर्दै आएका छन्।

तर, स्वास्थ्य मन्त्रालयकै सल्लाहकार तथा जनस्वास्थ्य वैज्ञानिक डा. सुरेश तिवारीले पाँच सयभन्दा बढी संक्रमण फैलिएका जिल्लामा समुदायस्तरमा संक्रमण फैलिएको आशंका व्यक्त गर्छन्। उनले देशमा हालसम्म फेला परेका संक्रमितमध्ये ७३ प्रतिशत केस १२ जिल्लाका भएकोले ती स्थानमा परीक्षणको दायरा बढाउनुपर्नेमा जोड दिए।

मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देहीलगायतका १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमित भेटिएका छन्।

पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना पुुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या संख्या ४२ हजार ८ सय ७७ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .