समाज


समुदायमा फैलिएको संक्रमण रंगेली नगरपालिकाले यसरी गर्‍यो नियन्त्रण

समुदायमा फैलिएको संक्रमण रंगेली नगरपालिकाले यसरी गर्‍यो नियन्त्रण

यज्ञराज जोशी
भदौ २१, २०७७ आइतबार ११:०,

साउन तेस्रो साता मोरङको रंगेली नगरपालिकामा कोरोना संक्रमण समुदायमा फैलिएको आशंका गरिँदै थियो। तर, व्यवस्थित क्वारेन्टिन र व्यापक परीक्षणपछि अहिले नगरपालिकाले संक्रमितको संख्या शून्यमा झारेको छ।

नगरपालिकाको आइसोलेसनमा रहेका तीन जना पनि शनिबार निको भएर घर फर्केपछि रंगेली संक्रमणमुक्त भएको हो। यससँगै नगरका १ सय २२ जना कोरोना संक्रमित निको भएका छन्। संक्रमितमध्ये १३ जनामात्रै बाहिरबाट आएका थिए भने अरु सबै स्थानीय नै थिए।

भारतसँग सीमा जोडिएको नगर भएपनि तदारुकतापूर्वक रोकथाम गरेकाले संक्रमण शून्यमा झार्न सम्भव भएको नगरप्रमुख दीलिपकुमार अग्रवाल बताउँछन्।

‘संक्रमण देखिएका व्यक्तिलाई कत्तिपनि ढिलो नगरी त्यही दिन आइसोलेसनमा ल्यायौं। कन्ट्याक्ट ट्रेसिङलाई पनि तीव्रता दियौं र संक्रमण देखिएको एरिया तत्कालै सिल गर्‍यौँ,’ नगरप्रमुख अग्रवाल भन्छन्, ‘संक्रमण फैलिएको एरियालाई सिल गरेपछि चहलपहल, भेटघाट रोकियो र अरुलाई सर्न पाएन।’

नागरिकको उपचारमा नगरपालिका पनि सक्रिय भएकाले संक्रमितहरु चाँडै निको भएको र धेरै मानवीय क्षति पनि हुन नसकेको उनले बताए। रंगेलीमा कोरोनाबाट ४५ वर्षीय एक व्यक्तिको निधन भएको छ।

सुरुदेखि नै अग्रसरता
जेठ मसान्तसम्म ५२ हजार जनसंख्या रहेको रंगेलीमा भारतबाट आएर क्वारेन्टिनमा बसेका २ जनामात्रै संक्रमित थिए। तर सीमाबाट नागरिक भित्रिने क्रम रोकिएन। र, क्वारेन्टिनमा बसेकाहरुमा फाट्टफुट संक्रमण देखिँदै गयो।

असार ८ गते क्वारेन्टिनमा बसेका ८ जनामा एकैपटक संक्रमण देखियो। यहीबेला छिमेकी सोनवर्षी नगरपालिका मा एक पुरुषको कोरोनाका कारण निधन भयो।
‘हामीले लगत्तै नगर कोभिड संकट व्यवस्थापन समिति (सीसीएमसी)को बैठक बोलायौं,’ उनले भने, ‘त्यसबेला नै समुदायस्तरमा कोरोना फैलन नदिन मास्क अनिवार्य गर्ने, सीमामा कडाइ गर्ने, बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टिनमा राख्ने, साप्ताहिक हाटबजार बन्द गर्ने, निश्चित समयमा मात्रै पसल खोल्ने निर्णय लियौैं र नगरभरी नै माइकिङ गरि चेतना फैलाउने काम थालौं।’

नगरको उक्त निर्णयले धेरै हदसम्म काम पनि गरेको देखियो। फाट्टफुट संक्रमित देखिने क्रम भने रोकिएको थिएन। साउन १९ गते एकैपटक २२ जनालाई संक्रमण पुष्टि भयो।

यतिबेला एकै परिवारका १४ जनासहित रंगेली अस्पतालका स्वास्थ्यकर्मीहरु, विद्युत प्राधिकरणका कर्मचारीलाई संक्रमण देखिएको थियो। यहीबेला समुदायमा संक्रमण फैलिएको आशंका गरेर संक्रमित क्षेत्र सिल गर्ने र परीक्षण व्यापक बनाउने निर्णय लिइएको अग्रवालले बताए।

साउन २१ गते ट्राभल हिस्ट्री नभएका एक ४५ वर्षीय पुरुषको निधनपछि नगरमा समुदायमा संक्रमण फैलिएको कुराले थप बल पाएको थियोे। यही आशंकाबीच नगरले ४ सय २३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको थियो। सोक्रममा थप ३० जनासहित नगरमा १२२ जनामा संक्रमण पुष्टि भयो।

‘हामीले विभिन्न स्थानहरु सिलमात्रै गरेनौं। संक्रमितका सम्पर्कमा आएकालाई क्वारेन्टिनमा राख्ने र परीक्षणमा पनि त्यत्तिकै तीव्रता दियौंं,’ नगरप्रमुख अग्रवालले भने, ‘प्रदेश सरकारले दिएको भीटीएम नपुगेपछि साढे दुई हजार भीटीएम आफैँ खरिद गरेर स्वाब संकलन गरौं। धेरै परीक्षण गरेपछि संक्रमितहरु छुट्याउन सजिलो भयो।’

नगरले शनिबारसम्म २ हजार १ ८६ जनाको पीसीआर परीक्षण गरिसकेको छ।

सय शय्याको आफ्नै आइसोलेसन
संक्रमित बढ्दै गएपछि प्रदेश सरकारले बनाएका आइसोलेसनमा बिरामीहरुले उपचारका लागि ठाउँ नपाउने अवस्था बन्यो। यस्तो अवस्थामा नगरपालिकाले आफ्नै आइसोलेसन निर्माण गर्ने निर्णय गरेको थियो।

‘सुरुमा एक लट बिरामीलाई प्रदेश सरकारको आइसोलेसनमा पठायौं। त्यसपछि २४ घण्टाभित्रै आफ्नै आइसोलेसन बनायौं र बाँकी संक्रमितलाई नगरमै उपचारको व्यवस्था मिलायौं,’ नगरप्रमुख अग्रवाल थप्छन्, ‘आइसोलेसन खोलेर मात्रै हुँदैन। त्यहाँको व्यवस्थापन र खानपिन पनि राम्रो भए बिरामीलाई छिटो निको पार्न सकिन्छ भनेर हामीले ताजा, तागतिलो खानपिनको व्यवस्थापन समेत गरेका छौं।’

आइसोलेसनमा एकजना चिकित्सकसहित दुई स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चौबीसै घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। आइसोलेसनको व्यवस्थापन राम्रो भएकै कारण त्यहाँ बसेका बसेका ७५ वर्षका वृद्ध, बालक, गर्भवती महिलामा समेत कुनै समस्या नदेखिएको उनले बताए।

आइसोलेसनमा बिरामीका लागि नगरपालिकाले दैनिक ताजा दुई छाक खाना, दुई समय नास्ता, फलफूल, तातोपानी, साबुन पानीको व्यवस्था गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख भूपेन्द्रप्रसाद मण्डलले जानकारी दिए।

आइसोलेसनमा बसेका ८६ जना सबै निको भएर घर फर्केपछि आइसोलेसन खाली छ। आइसोलेसनमा बस्दा कुनै बिरामीको गुनासो नआएको मण्डलको भनाइ छ।

नगरपालिकाले आइसोलेसन सेन्टरबाहेक रंगेली तिरुपती बालाजी मन्दिरको भवनमा छुट्टै १ सय बेड क्षमताको क्वारेन्टिन समेत सञ्चालन गर्दै आएको छ। त्यहाँ बाहिरबाट आएकाहरु बसाल्ने र परीक्षणपछि मात्रै घर पठाउने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .