समाज


उपत्यकामा आइसोलेसन बेड अभाव हुने जोखिम, काठमाडौंमा बेडभन्दा तेब्बर बढी संक्रमित

उपत्यकामा आइसोलेसन बेड अभाव हुने जोखिम, काठमाडौंमा बेडभन्दा तेब्बर बढी संक्रमित

यज्ञराज जोशी
भदौ २६, २०७७ शुक्रबार ११:५९,

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा बिहीबारसम्ममा २ हजार ५ सय ६ जना कोरोना संक्रमित भई आइसोलेसनमा बसेका छन्।

तर, उपत्यका तीन जिल्लामा आइसोलेसन बेडको संख्या भने संक्रमितभन्दा ५ सय ५३ कम अर्थात् १ हजार ९ सय ५७ मात्रै छ।

उपत्यकामा बिहीबार मात्रै ५ सय ६९ जनालाई संक्रमण पुष्टि भएको थियो। शुक्रबार थप ६ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितको संख्या बढ्दै जाँदा उपत्यकामा आइसोलेसन बेड अभाव हुने देखिएको छ।

तर, संक्रमितमध्ये आधाजसो होम आइसोलेसनमा बसेकाले अहिले नै अभाव भइनसकेको मन्त्रालयका कोभिड–१९ प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले बताए। उनले संक्रमित बढ्दै जाँदा थप आइसोलेसन बेड आवश्यक पर्ने भएकाले त्यसको तयारीमा मन्त्रालय रहेको जानकारी दिए।

‘होम आइसोलेसनको अवधारणाले धेरै मानिस अहिले घरमै बसिरहेकाले अभावै चाहिँ भइसकेको छैन,’ सेढाईंले भने, ‘तर संक्रमण बढ्दै जाँदा आइसोलेसन बेडको अभाव हुनसक्छ। त्यसका लागि यसै हप्ता ५ सय बेड थप्ने हाम्रो तयारी छ।’

स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशमा मात्रै बिहीबारसम्म २ हजार ५ सय एक जना होम आइसोलेसनमा बसेका छन्। तीमध्ये अधिकांश उपत्यकाका हुन्।

उपत्यका नगरपालिका फोरमले भदौ दोस्रो साता कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसहितको छलफलमा उपत्यकामा ६ हजार एकीकृत आइसोलेन बेड थप्न सुझाव दिएको थियो।

सीसीएमसीले उक्त जिम्मेवारी प्रदेश सरकारलाई सुम्पिएको छ। प्रदेश सरकारले तत्काल भक्तपुरको खरिपाटीमा दुई सय र काठमाडौंमा थप तीन सय बेडको आइसोलेसन सेन्टर सञ्चालन गर्न लागेको सेढाईंले जानकारी दिए।

‘अहिलेपनि हाम्रा आइसोलेसन सेन्टरहरुमा सबै बेड भरिइसकेको छैन। तर, संक्रमण बढ्दै गएकाले हामीले आइसोलेसन सेन्टर थप्दै जाने निर्णय गरेका छौं,’ उनले भने, ‘एकदुई दिनमै पाँच सय बेड थप्ने हाम्रो तयारी छ।’

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार सरकारले निशुल्क उपचार गर्ने अस्पताल र आइसोलेसन सेन्टर गरी काठमाडौैंमा १ हजार ५ सय आइसोलेसन बेड छन्। तर सक्रिय संक्रमितको संख्या काठमाडौंमा त्यसको तीन गुणा बढी छ। बिहीबारसम्म काठमाडौंमा मात्रै ४ हजार ६ सय ९ सक्रिय संक्रमित छन्।

थुप्रै संक्रमित होम आइसोलेसन र केही संक्रमित नीजी अस्पतालमा उपचाररत रहेको कार्यालयकी सूचना अधिकारी पार्वती विष्टले जानकारी दिइन्।

यस्तै भक्तपुरको खरिपाटी आइसोलेसनमा दुई सय बेड तथा ललितपुरको पाटन अस्पतालमा १ सय बेडको आइसोलेसन छ। बिहीबारसम्म भक्तपुरमा ४ सय ७७ तथा ललितपुरमा ४ सय ७१ जना सक्रिय संक्रमित छन्।

‘एक पटक बेड नै खाली नभएर बिरामी राख्न नपाएको अवस्था आएको थियो। अहिले होम आइसोलेसनले गर्दापनि बिरामी भर्ना नभएको अवस्था छैन,’ विष्टले भनिन्, ‘अहिले अस्पतालहरु प्रायः भरिभराउ भएपनि आइसोलेसन सेन्टरहरुमा १०–१५ वटा बेडहरु खाली हुन्छन।’

उपत्यकामा मनमोहन मेमोरियल कलेज दहचोकमा ३ सय ३७ बेड, आयुर्वेद हस्पिटल कीर्तिपुरमा २ सय २० बेड, खरिपाटीमा दुई सय बेड, एपीएफ अस्पताल बलम्बुमा २ सय बेड, जनमैत्री अस्पतालमा सय बेड, इचंगुनारायणमा एक सय बेड, त्रिवि शिक्षण अस्पतालमा ८० बेड, नेपाल पुलिस र नेपाल आर्मी अस्पतालमा सय–सय आइसोलेसन बेड छन्।

सरकारको उपत्यकामा ५ हजार आइसोलेसन बेड थप्ने निर्णय अनुसार नै दहचोकको मनमोहन, जनमैत्री र इचम्बु नारायणमा आइसोलेसन सुरु भएको र काठमाडौंमा अर्को ३ सय बेडको आइसोलेसन सञ्चालनको तयारी रहेको विष्टले बताइन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोरोना फोकल पर्सन महेन्द्र श्रेष्ठले भने आइसोलेसन सेन्टरहरुको निर्माणको कार्य सीसीएमसी र प्रदेश सरकार मातहत गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .