समाज


नियमित सेवासहित पुरानै लयमा फर्किंदै नारायणी अस्पताल

नियमित सेवासहित पुरानै लयमा फर्किंदै नारायणी अस्पताल

यज्ञराज जोशी
असोज २, २०७७ शुक्रबार ११:३०,

प्रदेश दुईको एकमात्र महानगरपालिका पर्साको वीरगञ्जस्थित नारायणी उप–क्षेत्रीय अस्पतालले आफ्ना ओपीडीसहितका नियमित सेवा सञ्चालनमा ल्याएको छ।

कोरोना संक्रमणको हटस्पट बनेपछि वीरगञ्जको यो अस्पताल नराम्ररी प्रभावित भएको थियो।

अस्पतालका ६० बढी स्वास्थ्यकर्मीहरु संक्रमित भएका थिए। अस्पताललाई सरकारले कोभिड लेभल–दुई अस्पताल घोषणा गरेपछि यसका नियमित सेवा बन्द गरिएको थियो।

कोरोना डेडिकेटेड अस्पताल घोषणा भएपछि अन्य सेवा बन्द हुँदा त्यसको प्रत्यक्ष प्रभाव बारा, पर्सा, रौतहटलगायत जिल्लाका हजारौं नागरिकलाई परेको थियो।

दैनिक सयौं बिरामीहरु उपचार सेवाबाट बञ्चित हुनपरेको थियो भने बिरामीहरु चर्को मुल्यमा निजी अस्पतालमा उपचार गराउन बाध्य थिए।

यस क्षेत्रको लाइफलाइनको रुपमा रहेको यो अस्पताल अहिले फेरि पूरानै लयमा फर्कने तरखरमा छ। अस्पतालले बिहीबारबाट ओपीडी लगायत नियमित सेवाहरु आंशिक रुपमा सञ्चालनमा ल्याएको छ।

अहिले दैनिकरुपमा हरेक विभागमा २५–२५ बिरामी जाँच्ने निर्णय भएपनि कोभिडको अवस्था हेरेर अर्कोहप्ता थप बिरामी हेरिने अस्पतालका प्रवक्ता तथा वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले बताए।

‘कोरोनाको जोखिम कम भएसँगै नियमित ओपीडी सेवा सुरु गरेका छौं। अहिले प्रत्येक विभागमा २५–२५ वटा टिकट काटेर ओपीडी सेवा सुरु गरेका हौं,’ उनले भने, ‘एक सातापछि परिस्थिति हेरेर थप ओपीडी टिकटको व्यवस्था गर्नेछौं।’

उनका अनुसार अस्पतालले ओपिडी अन्तर्गतका मेडिसिन, इएनटी (नाक–कान–घाँटी), हाडजोर्नी, प्रसूती, दाँत, रेडियोलोजी, आँखालगायत सबै विभागबाट सेवा सुचारु गरेको छ।

अस्पतालले प्रसूती र इमरजेन्सी सेवा भने यसअघि पनि सञ्चालन गर्दै आएको थियो।

कोरोना संक्रमणबाट काठमाडौंपछि देशमा सबैभन्दा बढी प्रभावित जिल्ला पर्सा हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म जिल्लामा संक्रमित संख्या २ हजार ५७१ रहेको छ।

साउन पहिलो सातादेखि कोरोना संक्रमण दर उच्च रहेपनि भदौ तेश्रो साताबाट भने संक्रमण दर घट्दै गएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।

उनकाअनुसार बुधबारसम्म जिल्लाका अस्पताल, होम आइसोलेसन र सामुदायिक आइसोलेसनमा १५२ जनामात्रै सक्रीय संक्रमित छन। बिहीबार १९ जना संक्रमित थपिएका छन।

नारायणी अस्पताललाई कोभिड अस्पताल बनाइएपछि सो अस्पतालले दिँदै आएको सेवाहरुको जिम्मेवारी नेसनल मेडिकल कलेजलाई दिइएको थियो। तर त्यहाँ सेवा राम्रो नभएको भन्दै नारायणी अस्पताललाई जनरल अस्पताल बनाउन स्थानीयहरुले माग गरिरहेका थिए।

‘अस्पतालबाट दैनिक सयौं बिरामीले उपचार लिन्थे तर चाहँदा चाहँदै पनि लामो समय संक्रमणको जोखिमकै कारण सेवा सुचारु गर्न सकिएको थिएन,’ डा. चौरसियाले थपे, ‘ओपीडी सञ्चालनमा आएपछि यहाँका नागरिकलाई ठूलो राहत हुनेछ। यसलाई निरन्तरता दिन अस्पताल प्रयासरत् छ।’

संक्रमित संख्या घट्दै गएपछि अस्पतालका आइसोलेसन बेडहरु पनि खाली हुँदै गएको छ। अस्पतालले सञ्चालन गर्दै आएको नारायणी कोभिड–१९ अस्पताल गण्डकमा ७० बेडमा ३२ जनामात्रै संक्रमित अहिले उपचाररत् छन। त्यसबाहेक अन्य बिरामी होम तथा संस्थागत आइसोलेसनमा उपचाररत् छन।

तर साउन दोस्रो साताबाट लगाइएको निषेधाज्ञा बिहीबारबाट खुलेपछि चुनौती थपिएको डा. चौरसिया बताउँछन। अहिले वीरगञ्जमा बजार, यातायात खुलेसँगै भीडभाड बढेको छ। यसले संक्रमण फैलिने जोखिम देखिएको छ।

बुधबार ५ जनामात्रै थप संक्रमित भेटिएको पर्सामा बिहीबार अन्य १९ जनामा संक्रमण पुष्टि भएको छ।

‘अस्पतालका केही जनशक्ति अझैपनि आइसोलेसनमा छन्। त्यसमाथि निषेधाज्ञा खुलेपछि संक्रमण बढेकाे देखिन्छ,’ डा.चौरसियाले भने, ‘संक्रमणको जोखिम कायमै भएकोले नागरिकलाई सहजरुपमा सेवा सुचारु गर्नु चुनौतीपूर्ण छ। तर पनि सुरक्षित उपाय अपनाएर नागरिकलाई सेवा दिने काममा हामी पछि पर्दैनौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .