समाज


कुनै बेला हटस्पट बनेको कपिलवस्तुमा यसरी बन्द हुँदै छन् आइसोलेसन सेन्टरहरु

कुनै बेला हटस्पट बनेको कपिलवस्तुमा यसरी बन्द हुँदै छन् आइसोलेसन सेन्टरहरु

यज्ञराज जोशी
असोज ७, २०७७ बुधबार १५:१४,

एक समय कोरोना संक्रमणको हटस्पट बनेको कपिलवस्तु जिल्लामा कोरोना संक्रमण दरमा कमी आएसँगै आइसोलेसन सेन्टरहरु बन्द हुँदै गएका छन।

संक्रमण ह्वात्तै बढेका बेला निर्माण गरिएका १५ मध्ये १० आइसोलेसन सेन्टर अहिले बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका सूचना अधिकृत उमेश घिमिरेले बताए।

‘सक्रमित संख्या घटेसँगै आइसोलेसन सेन्टर पनि बन्द भएका हुन। जिल्लामा अहिले १ सय ३६ जनामात्रै सक्रिय संक्रमित छन,’ घिमिरेले भने, ‘त्यसमध्ये पनि १८ जना अस्पतालमा छन भने आधाजसो होम आइसोलेसनमा छन। संस्थागत आइसोलेसमा रहनेको संख्या घट्दो छ।’

जिल्लामा हालसम्म १३ हजार ८ सयको स्वाव परीक्षण गरिएको छ। जसमध्ये बिहीबारसम्म १ हजार २९३ जनामा संक्रमित पुष्टि भएको उनले जानकारी दिए।

सुरुमा क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखिएपनि पछिल्लो समय प्रहरी, बैंक कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई संक्रमण देखिएको उनले बताए।

बैशाख २५ गते कपिलवस्तुमा सुरुमा दुई जनालाई कोरोना संक्रमण देखिएको थियो। उनीहरु भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेका थिए। जिल्लामा जम्मा ८ वटा आइसोलेसन बेड भएपछि ती खाली थिए।

तर जेठ लागेदेखि क्वारेन्टिनमा बसेकालाई संक्रमण देखिनेक्रम तीव्र बनेको थियो। दैनिक १० देखि १५ जनाको हाराहारीमा संक्रमण देखिएपछि कपिलवस्तु देशकै हटस्पट बन्यो।

त्योसँगै १० वटै स्थानीय तहले आ–आफ्ना क्षेत्रमा आइसोलेसन सेन्टर बनाएका थिए।

संक्रमित दर बढ्दै गएपछि देशमै पहिलोपल्ट संक्रमितलाई स्थानीय आइसोलेसनमा राखेर संक्रमितको उपचार गर्ने जिल्ला पनि कपिलवस्तु हो। जेठ दोस्रो सातादेखि सामान्य बिरामीलाई स्थानीय आइसोलेसन र जोखिमयुक्त बिरामीलाई बुटवल तथा भैरहवा पठाउने गरिएको थियो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्रप्रसाद भगतले अधिकांश लक्षणविहिन भएर घरमै रहेका कारण आइसोलेसन सेन्टरहरु पनि खाली भएको बताए। तर लकडाउन खुलेर चहलपहल बढेपछि चुनौति थपिनसक्ने उनले बताए।

‘एक समय भारतबाट स्थानीय नागरिकहरु नै ठूलो संख्यामा भित्रिदा त्यसको व्यवस्थापन गर्न चुनौतिपूर्ण भएको थियो। बीचमा समुदायमा पनि संक्रमण देखियो,’ स्वास्थ्य कार्यालयका प्रमुख भगतले भने, ‘अहिले नियन्त्रणमा देखिएको छ। तर लकडाउन खुलेसँगै चहलपहल बढेपछि संक्रमणसँग चुनौति पनि बढ्ने देखिन्छ।’

भगतले भनेजस्तै चहलपहल बढेपछि कपिलवस्तुमा पछिल्लो दिनमा संक्रमितको संख्या पनि थपिएको छ। असोज ४ गते १२ जना, ५ गते ९ र ६ गते १९ जनामा संक्रमण देखिएको छ।

त्यसअघि असोज १ गते एक जना, २ गते ६ जना र असोज ३ गते तीन जनामा मात्रै संक्रमण भेटिएको थियो।

जिल्लामा सबैभन्दा बढी संक्रमण देखिएको कपिलवस्तु नगरपालिकामा हाल २६ जना सक्रिय संक्रमित छन। नगरपालिकामा पुष्टि भएका २७५ संक्रमितमध्ये २४९ जना निको भएर घर फर्किसके।

नगरपालिकामा रहेका ५०–५० बेडका दुई आइसोलेसन सेन्टरमा हाल ६ जनामात्रै रहेको नगरका स्वास्थ्य शाखा प्रमुख उमेशप्रसाद गुप्ताले बताए।

पछिल्लो पटक समुदायबाट ४७ जनाको परीक्षण गर्दा १ जनामा मात्रै पोजिटिभ देखिएको उनले बताए।

सो नगरपालिकामा भारत तथा बाहिरबाट १ हजार ३५८ जना आएका थिए। क्वारेन्टिनसँगै समुदायका गरी २ हजार ४१ जनाको स्वाव संकलन भइसकेको गुप्ताले बताए।

कपिलवस्तु नगरपालिकापछि सबैभन्दा बढी संक्रमण देखिएको जिल्लाको अर्को स्थानीय तह यशोधरा गाउँपालिका हो। यो स्थानीय तहमा भदौ दोस्रो साताबाट नयाँ संक्रमित नभेटिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले बताए।

यहाँ भेटिएका १७० जना संक्रमित सबै अहिले निको भएर घर फर्किसकेका छन।

‘कहिलेकाँही फाट्टफुट केसहरु देखिएका छन। हामीले पछिल्लो समय समुदायमा ९४ जनाको परीक्षण गर्दा एकजनामात्रै पोजिटिभ भेट्टायौं,’ दुबेले भने, ‘भारतबाट आएकालाई क्वारेन्टिनमा राख्ने र परीक्षण गरेर घर पठाउने व्यवस्थापनले संक्रमण नियन्त्रणमा हुँदै आएको छ।’

भारत तथा बाहिरबाट आएका १ हजार ५८० जनालाई क्वारेन्टिनमा राखिएको थियो। त्यसमध्ये १ हजार १०६ जनाको पीसीआर परीक्षण गरिएको थियो। त्यसबाहेक गाउँपालिकामा तीन आइसोलेसन सेन्टर थियो। अहिले क्वारेन्टिन तथा आइसोलेसनका सबै बेडहरु खाली भएका छन।

महाराजगञ्ज नगरपालिकाकामा पनि अहिले संक्रमितको संख्या स्वाट्टै घटेको छ। यहाँ भेटिएका १३१ जनामध्ये हाल १० जनामात्रै सक्रिय संक्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम कलवारले बताए।

सक्रिय सक्रमितमध्ये लक्षण देखिएका एकजना अस्पतालमा उपचाररत् छन भने त्यसबाहेक लक्षणबिहिन अन्य होम आइसोलेसनमा छन। नगरपालिकामा रहेको १७० बेडको आइसोलेसन सेन्टर खाली रहेको कलवारले बताए।

यस्तै बाणगंगा नगरपालिकाको आइसोलेसन पनि अहिले खाली भएको छ। नगरपालिकाका स्वास्थ्यअधिकृत ठगराज पौडेलका अनुसार नगरमा देखिएका १२९ संक्रमितमध्ये अहिले १४ जनामात्रै सक्रिय संक्रमित छन। उनीहरु पनि लक्षण नभएकाले होम आइसोलेसनमा रहेको पौडेलले बताए।

सो नगरमा भारत तथा अन्यत्रबाट आएर १७ सय जना क्वारेन्टिनमा बसेका थिए। नगरका विभिन्न वडाहरुमा १८ सय २५ जनाको स्वाव संकलन गरिएको पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .