ad ad

समाज


सुद्खोरको आतंकले आधा दर्जन परिवार गाउँबाट लखेटिए, तर प्रशासन भन्छः ठूलो मिटरब्याजी होइन रहेछ

सुद्खोरको आतंकले आधा दर्जन परिवार गाउँबाट लखेटिए, तर प्रशासन भन्छः ठूलो मिटरब्याजी होइन रहेछ

शैलेन्द्र महतो
असोज ८, २०७७ बिहिबार ९:३६,

महोत्तरीको औरही नगरपालिका १ का ५८ वर्षीय रामप्रित मण्डल (खत्वे) चार छोरा, चार बुहारी र नातिनातिना छन्। ठूलो भएपनि परिवारलाई के खाऊँ, के लाऊँ भन्ने चिन्ता थिएन।

सम्पत्तिको नाममा १५ धुर घडेरी, ११ कठ्ठा खेत र एउटा ट्याक्टर थियो उनको। चार लक्काजवान छोराले मिहिनेत गर्थे, भइरहेको आम्दानीले घरखर्च चल्थ्यो। उनीहरु खुसी थिए। तर गत कात्तिकको पहिलो साता रामप्रितको परिवारमाथि बज्रपात आइपर्‍यो। महोत्तरी जिल्ला अदालतबाट सावाँ–ब्याजसहित ८ लाख ६ हजार १ सय रुपैयाँ रामप्रितकी श्रीमती ५३ वर्षीया तारादेवी मण्डलसंग असुल गरी पाऊँ भनी लेनदेन मुद्दाको म्याद आयो।

मुद्दा हाल्ने व्यक्ति थिए रामप्रितकै छिमेक नामुद मिटरब्याजी ३० वर्षीय विजय चौधरी (कलवार)। जसले गाउँका गरिब तथा विपन्नहरुको बाध्यताको मौकाछोपी गैरकानुनी रुपमा प्रतिबजार हजार अर्थात् १ सय ७२ प्रतिशत मासिक ब्याजदरमा ऋण लगाउने धन्दा गर्छन्। समयमै ब्याजको स्याज गरेर ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई घरमै पसेर कुटपिट गर्छन्, शौचालयमा थुन्छन्, श्रीमती उठाइदिने धम्की दिन्छन्। उनको यो आतंकले गाउँका झण्डै आधा दर्जन परिवार विस्थापित भइसकेका छन्।

विजयले हालेको लेनदेन मुद्दाको म्याद आउँदा रामप्रितको परिवारमा ठूलै भूकम्प गयो।

‘आमाले ६ लाख ९२ हजार रुपैयाँ लिएको र त्यसको ब्याज गरी ८ लाख ६ हजार १ सय रुपैयाँ तिर्नुपर्ने अदालतमबाट मुद्दाको समन आउँदा हाम्रो होस् नै उड्यो, ’ताराको कान्छो छोरा श्यामले भने, ‘विजय चौधरीबाट आमाले एक रुपैयाँ पनि ऋण लिनु भएको थिएन। अरुलाई ऋण दिन साक्षी बस्दा साहु विजयले उल्टै कपाली तमसुक बनाए। यो कुरा समन आएपछि मात्रै हामीलाई थाहा भयो।’

झण्डै एक वर्षअघि ताराले नातामा भाइ–बुहारी पर्ने स्थानीय ३० वर्षीया ममता मण्डललाई सुदखोर विजय चौधरीबाट प्रतिबजार हजारको ब्याजदरमा ७० हजार रुपैयाँ ऋण दिलाएकी थिइन्। सुदखोर विजयले ५ फागुन २०७४ मा ऋण दिलाउने तारा र ऋणी ममतालाई घरमा बोलाए। ७० हजारको दुई महिनामै ब्याजको स्याज गरी ताराबाटै कपाली तमसुक बनाए र तारालाई साहुको रुपमा खडा गरी ममतासँग उनको तमसुक बनाइदिए।

छोराहरुले तारालाई किन अरुलाई ऋण दिलाउन आफूले कागज बनाएको भनेर कचकच गर्न थाले। परिवारमा किचलो सुरु भयो। तर, विजयको ऋण नतिरी तारालाई सुख थिएन। ताराले आठनौ जना साहु महाजनबाट ऋण काढेर सुदखोर विजयको तमसुक अनुसारको ऋण तिर्न सुरु गरिन्।

अनन्तः पतिको नाममा रहेको ८ कठठ जग्गा, ५ धुर घडेरी र भएको एउटा ट्याक्टर पनि बेच्नु पर्‍यो।

‘साहुमहाजन यतिसम्मका छलिया हुन्छन् भन्ने मैले सोचेको पनि थिइनँ,’ ताराले तमसुकको प्रतिलिपि देखाउँदै भनिन्।

यही निहुँमा गएको चैतमा उनको परिवारमा ठूलो झगडा भयो। घरकै सदस्यबीच कुटाकुट हुँदा तारा, रामप्रित र कान्छो छोरा श्याम घाइते भए।

‘फर्जी ऋणकै कारण ८ कठ्ठा जग्गा, टयाक्टर र ५ धुर घडेरी बेचेको विषयमा छोराबुहारीबाट कुटिएँ। अझै निको भएकी छैन,’ ताराले भनिन्।

adalt_ma_diyeko_mudda_1.jpg

त्यसपछि उनको सगोल परिवार टुट्यो। औरहीबजारमा भएको दशधुर जग्गामा भएको घरबाट छुटेर तारा, पति रामप्रित, र आमालाई साथदिने कान्छो छोरा श्यामको परिवार बेचिसकेको औरही बजारभन्दा पाँचसय मिटर पूर्वमा रहेको पाँचधुर घडेरी भाडामा लिएर सानो छाप्रोमा बसेका छन्।

‘यति गरेर साहु विजयलाई झण्डै १३ लाख रुपैयाँ तिरिसकेका छौं। तर तमसुक दिएको छैन,’ ताराले भनिन्, ‘विजयलाई तिर्न विभिन्न साहुसंग लिएको ६ लाख रुपैयाँ अझै ऋण छँदैछ। अब कहाँबाट तिर्ने?’

सुदखोर विजयले तारालाई कसरी फसाए?
औरही नगरपालिका १ बजार टोलमै घर भएका रामचन्द्र मण्डल तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसियामा उनकी श्रीमती ३० वर्षीया ममता घरखर्चको लागि ऋण खोज्दै तारा मण्डलको घरमा पुगिन्। ताराले विजय चौधरीले ऋण लगाउँछ भनिन्। ममताले ऋण उपलब्ध गराइदिन तारालाई विजयलाई भन्न आग्रह गरिन्। सुदखोर विजय ऋण दिन तयार भए। गएको २०७४ को पुस र माघमा ममताले विजयबाट २०–२० हजार रुपैयाँ दुईपटक र ३० हजार एकपटक गरी ७० हजार रुपैयाँ ऋण लिइन्।

mamta_mandlko_pariwar.jpg ममताको परिवार

त्यो ऋण सुदखोर विजयले प्रतिबजार हजारको दरले दिएका थिए। अर्थात् ५० हजारको चारदिनमा १ हजार। औरही बजार सातामा दुईदिन मंगलबार र शुक्रबार लाग्ने गर्छ। यस हिसाबले ममताले ७० हजारको ऋणको प्रतिबजारको १४ सय रुपैयाँ ब्याज थियो।

ऋण लिएको दुई महिना नपुग्दै ७० हजार रुपैयाँ सावाँ ब्याज सहित चुक्ता गर्न सुदखोर विजयले तारा र ममतालाई निरन्तर ताकेता गर्न थाले। समयमै ऋण चुक्ता नगरेपछि २०७४ को फागुन ५ गते सुदखोर विजयले हरहिसाब गर्न भन्दै तारा र ममतालाई आफ्नो घरमा बोलाए। विजयको घरमा कपाली तमसुक लेख्ने लेखनदास (देवान) स्थानीय जयशिव यादव पनि उपस्थित थिए।

‘मनपरी हरहिसाब गरेर ७० हजारको १ लाख ७३ हजार २ सय ब्याज भयो भन्यो,’ यति धेरै हुँदैन भन्दा मानेन,’ ताराले भनिन्।

विजयले कि तुरुन्तै पैसा तिर कि तमसुक बनाऊँ भनेपछि ममता तमसुस बनाउन राजी भइन्। तर विजयले चलाखी गर्दै तारालाई नै ऋणी बनाएर जबर्जस्ती कागज बनाए।

‘तमसुकमा सही नगरुञ्जेल हामीलाई बाहिर निस्किनै दिएन,’ तारा भन्छिन्।

विजयले २०७४ फागुन ५ गते नै ऋणी ममताको साटोे साक्षी तारासँग ७० हजारको ब्याजको स्याज गरी १ लाख ७३ हजार २ सय रुपैयाँ साँवा बनाएर त्यसको चारगुना बढी अर्थात् ६ लाख ९२ हजार ८ सय रुपैयाँको कपाली तमसुक बनाए।

दुवै तमसुक एक वर्षअघिको मिति २०७३ माघ १ र २ गतेको समय तोकेर बनाइएको छ। जसमा लिएको ७० ऋणको झण्डै १० गुणा बढी तमसुकमा उल्लेख छ। विजयले माघ १ गते २०७३ को मितिमा तारालाई ६ लाख ९२ हजार ८ सय ऋण दिएको तमसुक लेखाएका छन् भने ताराले ममतालाई त्यति नै रकम ऋण दिएको मिति १ दिनपछि आर्थात २०७३ माघ २ मा उल्लेख छ। दुवै कागजमा रकम एउटै छ भने साहु, ऋणी, मिति र साक्षीहरु मात्र फरक छन्। तमसुक लेख्ने लेखनदास जयशिव यादव नै छन्।


सुदखोर विजयले साक्षी तारासंग बनाएको कपाली तमसुक

दुवै तमसुक मिलान गर्दा सुदखोर विजयको कालोधन्दा स्पष्ट हुन्छ। दुवै तमसुकमा ६ लाख ९२ हजार ८ सय रुपैयाँको सयकडा १० प्रतिशत ब्याजदर तोकिएको छ। तमसुकमा २०७४ पुस मसान्तभित्र ऋण ब्याजसहित एकमुस्ट बुझाउनु पर्ने ब्यहोरा उल्लेख छ।

तारालाई ममतासंग बनाइदिएको तमसुकको तल्लो भागको एकलाइनमा सुदखोर विजयले लिने प्रतिबजार हजारको ब्याजदर, उनले ७० हजारको ब्याजको स्याज गरेर बनाएको साँवा र मिति उल्लेख छ।

‘साँवा ‘१ लाख ७३ हजार २ सय रुपैयाँ २०७४ फागुन ५ गते। ब्याज प्रतिबजार रु.३५००।’ उल्लेख छ। जुन तारासंग सुदखोर विजय चौधरी बनाएको तमसुकमा पनि उल्लेख थियो। तर उनले तारालाई बर्बाद गर्न उक्त एक लाइन च्यातिएको प्रतिलिपीमा स्पष्ट देख्न सकिन्छ।

तमसुक बनाएको तीन महिनाभित्रै ममताका पति रामचन्द्रले ७० हजारको ब्याजसहित १ लाख ३० हजार रुपैयाँ सुदखोर विजयलाई नै चुक्ता गरेका छन्। तर ताराको सम्पत्तिमा आँखा गाडेका सुदखोर विजयले तमसुक फिर्ता गरेनन्।

त्यही तमसुकका आधारमा २६ भदौ २०७५ मा जिल्ला अदालत महोत्तरीमा उनले ताराविरुद्ध मुद्दा दायर गरे।

मुद्दाको समन आएपछि ताराले साहु विजय, उनका परिवार र गाउँसमाजका भद्रभलादमी सबैलाई आफूमाथि अन्याय भएको भन्दै बचाइदिन आग्रह गरिन्। तर गरिब, दलित र कमजोर उनको कुरा कसैले सुनेन। भद्रभलाद्मीले पनि विजयको ऋण चुक्ता गर्न उनलाई कर गरे।

‘हामीमाथि भएको यो अन्यायमा न्याय कसले दिन्छ?’ तारा भक्कानिँदै प्रश्न गर्छिन्।

सुदखोर विजयले तरालाई ऋणी ममतासंग बनाइदिएको कपाली तमसुक

विजयको आतंकबाट झण्डै आधा दर्जन परिवार प्रताडित
मिटरब्याजी विजय चौधरीका कारण गाउँका आधा दर्जन मानिस विस्थापित भइसकेका छन्। औरही बजार टोलकै नथुनी साह, मदन चौधरी, लक्ष्मण झा, राजु राउत विस्थापित भइसकेका छन्। विस्थापितमध्येका मदन चौधरीको केही समय पश्चात मृत्यु भएको थियो। स्थानीयका अनुसार लिएको ऋण समयमा चुक्ता नगर्दा सुदखोर विजयले उनलाई शौचालयमा थुनेर पटक पटक यातना दिएका थिए।

एक महिनाअघि मात्रै सुदखोर विजयको परिवारले पासोदेवी मण्डललाई घरमै गएर कुटपिट गरी गम्भीर घाइते बनाएको थियो। पासोदेवीले जिल्ला प्रहरी कार्यालय महोत्तरी अन्तर्गत महिला तथा बालबालिका सेलमा उजुरी दिँदा विजयले गाउँमै घटना मिलाएका थिए। पासोदेवीको दुधालु भैँसी लिएर उनले आफ्नो पोल खुल्ने डरले मिलापत्र गरेका थिए।

कालोधन्दाको खुलासापछि विजयको घरमा प्रहरीको छापा तर भएन कारबाही
मिटरब्याजी विजय चौधरीको कर्तुतबारे भदौ २४ गते नेपालखबरले समाचार प्रकाशन गरेको थियो।

‘मिटरब्याजी चौधरीको आतंकः ऋणभन्दा १० गुना बढीको तमसुक, यातना र श्रीमती उठाउने धम्कीपछि गाउँले विस्थापित’ शीर्षकको समाचार प्रकाशित भएपछि त्यसको भोलिपल्ट भदौ २५ गते साँझ जिल्ला प्रहरी कार्यालय महोत्तरीले विजयको घरमा छापा मारेको थियो। तर त्यस क्रममा कुनै कागजात फेला नपरेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर विष्टले जानकारी दिएका थिए।

tara_mandal_ko_ghr_kagjat_4.jpgतारा मण्डलको घर

प्रहरीले छापा मारे पनि विजय ठूलो मिटरब्याजी नभएको भन्दै प्रशासनले कारबाहीको लागि खासै चासो देखाएको छैन। प्रहरी प्रशासनलाई समेत विजयले प्रभावमा पारेकोले उनीमाथि कारबाही नहुने स्थानीय बासिन्दा बताउँछन्।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले साहु विजय मिटरब्याजी भएको प्रमाण नभेटिएको दाबी गरे।

‘हामीले अनुसन्धान गर्दा विजय चौधरी मिटरब्याजी भएको प्रमाण केही भेटिएन। उनी औरही बजारकै एक सहकारी संस्थामा काम गरिरहेका छन्। विजयमाथि अनुसन्धान भइरहेको छ। मिटरब्याजी भएको प्रमाण फेला परे कारबही हुन्छ,’ प्रजिअ कटुवालले नेपालखबरसंग भने।

को को छन् मिटरब्याजी विजयका सहयोगी?
औरही बजारका सत्यनाराण चौधरीका छोरा विजयले मिटरब्याजको धन्दा सुरु गरेको करिब पाँच वर्ष बितिसकेको छ। सुरुमा उनले प्रतिबजार हजार ब्याजदरको धन्दा चलाए। ब्याजदरले कमाइ राम्रो हुन थालेपछि उनले पूरै समय यसैमा दिन थाले। गरिबहरुलाई चरम शोषण गर्दा चाँडै धनी बन्ने सपना बुनेका उनले चार÷पाँच वर्षको अवधिमा राम्रै सम्पत्ति जोडेका छन्। तर, यो धन्दामा उनलाई साथ चारपाँच जनाको समूह नै भएको स्थानीय बताउँछन्।

स्थानीय रामबाबु चौधरी, सुरेश साह, सन्तोष साह, धीरेन्द्र साह, रामपुकार साह, रविन चौधरी लगायतको जमातले विजयलाई सघाउने एक स्थानीयले बताए। उनको लगानीको मनपरी तमसुक लेख्ने कार्यमा सहायक छन् स्थानीय सामुदायिक विद्यालयका शिक्षक समेत रहेका लेखनदास जयशिव यादव।

विजयको सबभन्दा ठूलो सहयोगी हुन् रामबाबु चौधरी। उनी विजयका आफन्त पर्छन्। रामबाबु गएको २०७४ को निर्वाचनमा महोत्तरी क्षेत्र नं. ४ क बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका थिए।

‘लेनदेनको कुनै छलफल हुँदा वा लिएको ऋण दिन नसक्दा यी सबै एकैपटक कडा रुपमा प्रस्तुत हुन्छन्। प्रहरी प्रशासनलाई मिलाउँछन्। र कमजोर तथा ऋणीहरुलाई दबाएर राखेका छन्,’ एक स्थानीयले भने।

याे पनि: 
मिटरब्याजी चौधरीको आतंक: ऋणभन्दा १० गुना बढीको तमसुक, यातना र श्रीमती उठाउने धम्कीपछि गाउँले विस्थापित
महोत्तरीका चर्को मिटरब्याजी चौधरीको घरमा प्रहरीको छापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .