समाज


सेनाले चार महिना लगाएर बनायो छाङरु र तिङ्करमा घोडेटो बाटो

सेनाले चार महिना लगाएर बनायो छाङरु र तिङ्करमा घोडेटो बाटो

नेपालखबर
असोज १८, २०७७ आइतबार ०:२,

नेपाली सेनाले दार्चुला सदरमुकाम खलङ्गालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटोको निर्माण पूरा गरेको छ। आउँदो सोमबार बाटो हस्तान्तरण गर्ने तयारी सेनाले गरेको छ।

नेपाली सेनाले झण्डै चार महिनाको प्रयासपछि व्यास गाउँपालिका १ घाँटीबगरमा अत्यन्तै कडा र अप्ठ्यारो पहरो फोरेर बाटो निर्माण गरेको हो । महाकाली नदी किनारको यस क्षेत्रमा सेनाले पहरो फोरेर दुई मिटर चौडाइ भएको ५ सय ५० मिटर लामो बाटो निर्माण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

बाटो निर्माण गर्न एक करोड ८ लाख रुपैयाँ खर्च भएको छ । पहरो फुटाएको क्षेत्रमा सरसफाइको अन्तिम चरणको काम भइरहेको प्रवक्ता पौडेलले बताए। घाँटीबगर क्षेत्र दार्चुला सदरमुकाम खलङ्गाबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ।

सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार यो बाटो हस्तान्तरण गर्ने कार्यक्रम छ । बाटो निर्माणको क्रममा नेपाली सेनाका एक जवानले वीरगति प्राप्त गरेका थिए । चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिकरुपमा परिचालन गरिएको थियो।

महाकाली तटीय क्षेत्रको यस बाटो बर्सेनि वर्षात् बाढी पहिरोका कारण भत्किँदै आएको थियो । पैदल बाटोसमेत नहुँदा खलङ्गादेखि झण्डै ७२ किलोमिटरको दूरीमा रहेको छाङरु गाउँका ९० परिवार तथा तिङ्कर गाउँमा बसोबास गर्ने करिब ६० परिवारलाई बसाइँ सर्न समस्या हुँदै आएको थियो।

भारतीय सीमा नजिकको छाङरु गाउँ तथा तिब्बत सीमा नजिकको तिङ्कर गाउँमा शौका समूदायको बसोबास छ । उनीहरु हिउँदमा कात्तिकदेखि चैत महिनासम्म दार्चुला सदरमुकाम खलङ्गा बसाइँ सर्ने तथा हिउँ पग्लेपछि गर्मी यामको वैशाखदेखि असोजसम्म व्यास क्षेत्र उक्लँदै आएका थिए।

झण्डै ४० वर्षअघि यस क्षेत्रमा पहिलो पटक घोडेटो बाटो निर्माण गरिएको थियो । बर्सेनि हिमपातसँगै पहिरो खस्दा बाटो अवरुद्ध हुँदै आएको थियो । त्यसैमाथि महाकालीको बाढीले बाटोको निसानै मेटाइ दिँदा त्यहाँका बासिन्दा पछिल्लो समय खलङ्गापारिको भारतीय क्षेत्र धार्चुला हुँदै भारतकै बाटो प्रयोग गरी पैदल छाङरु र तिङ्कर आवतजावत गर्न बाध्य थिए।

बजेट अभावसँगै पहरा फुटाउन पर्याप्त जनशक्ति जुटाउन नसक्दा शौका समुदाय निकै दुःख गरेर बर्सेनि कुञ्चा (बसाइँ सर्न) जाने गरेको थियो । नेपाली सेनाले पहरो फोरेर बाटो बनाएपछि अब शौका समुदायलाई आफ्नै नेपाली भूमि भएर गाउँ फर्कन सहज भएको छ।

यस वर्ष कोरोना भाइरसको महामारीका कारण व्यास बसाइँ सर्न शौका समुदायले अत्यन्त कष्ट भोग्नुपरेको थियो । वैशाख पहिलो हप्ता गाईवस्तुसहित जहान बालबच्चा डोर्याउँदै भारतीय बाटो हुँदै छाङरु र तिङ्कर जान खोजे पनि भारतले कोरोनाको कारण देखाउँदै आफ्नो बाटो प्रयोग गर्न दिएन।

भारतले सीमा बन्द गरेका कारण गाउँ फर्किन एक महिना ढिला भएको छाङ्रुका ललितसिंह बोहराले बताए। सेनाले बाटो निर्माण गरेका कारण अब भारतीय बाटो हिँड्ने बाध्यता हटेको उनी बताउँछन्।

घोडेटो बाटो मात्र होइन अब चाँडै छाङरु र तिङ्कर जोड्ने महाकाली कोरिडोरको सडक पनि सेनाले निर्माण गर्ने भएकाले बस चढेर गाउँ आवतजावत गर्न पाइनेमा बोहरा आशावादी छन्। घाँटीबगरको खोँचमा सेनाले क्याम्प नै खडा गरेर बाटो निर्माण गरेको हो।

पैदल बाटो नहुँदा स्थानीय बासिन्दाले मात्र होइन छाङरु र तिङ्करमा सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले हेलिकप्टर प्रयोग गर्नुपरेको थियो । अब बाटो निर्माण भएसँगै सुरक्षाकर्मीलाई पनि यो क्षेत्रमा आवतजावत गर्न सहज भएको छ।

अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरीको गुल्मसमेत राखिएको छ । बाटो नभएकै कारण स्थानीय बासिन्दाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि दार्चुला सदरमुकामदेखि हेलिकोप्टरमा खाद्यान्न ढुवानी गर्नुपरेको थियो।

शौका समुदायलाई गाउँ फर्किन कठिनाइ भएपछि सरकारले यस क्षेत्रमा बाटो बनाउने जिम्मेवारी नेपाली सेनालाई सुम्पेको थियो । जेठ दोस्रो हप्ता तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको यो बाटो निर्माणको काम वर्षातका कारण केही समय प्रभावित भएको थियो।

अब लगत्तै नेपाली सेनाले महाकाली कोरिडोरको सडक निर्माण थाल्नेछ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद पोख्रेलले यस क्षेत्रमा घोडेटो बाटो निर्माण भएकाले स्थानीयवासीका साथै व्यासमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीलाई आवतजावत गर्न सहज हुने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad