समाज


कोरोना हटस्पट उपत्यकाबाट दैनिक २४ हजार मानिस बाहिरिँदै

कोरोना हटस्पट उपत्यकाबाट दैनिक २४ हजार मानिस बाहिरिँदै

यज्ञराज जोशी
असोज १९, २०७७ सोमबार १२:१७,

कोरोना संक्रमणको हटस्पट बनेको काठमाडौं उपत्यकाबाट पछिल्लो साता दैनिक औसत २४ हजार मानिसहरु बाहिरिएका छन।

दशैं तिहारलगायत चाडपर्व नजिकिनु र उपत्यकामा कोरोना तीब्ररुपमा फैलिँदै गएपछि स्थलमार्गबाट मात्रै दैनिक उक्त संख्यामा मानिसहरु बाहिरिने क्रम सुरु भएको हो।

काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी रामकृष्ण सापकोटाका अनुसार सोमबारभन्दा पहिले एक हप्तामा उपत्यकाबाट १ लाख ६७ हजार ७६४ जना बाहिरिएका थिए।

त्यसअनुसार औसत दैनिक २३ हजार ९ सय जना बाहिरिने गरेका छन। यो स्थलगत तथ्यांकमात्रै हो। हवाईमार्गबाट बाहिरिनेको संख्या जोड्ने हो भने उपत्यका छाड्नेको संख्या अझै बढी हुन आउँछ। पछिल्लो हप्ता उपत्यकाबाट ३९ हजार ९१८ गाडीहरु बाहिरिएका छन।

‘चाडपर्व नजिकिदैँ गएकाले उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढ्दो छ। अझै दशैं नजिकिदैँ जादा र पूर्ण क्षमतामा गाडीहरु चलेमा बाहिरिनेको संख्या अझै बढ्नेछ,’ सापकोटाले भने।

यता काठमाडौं उपत्यकामा संक्रमण दर दिनप्रतिदिन बढ्दो छ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा मात्रै एक हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार काठमाडौंमा ११ सय ७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना नयाँ संक्रमित भेटिएका छन। योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या ३१ हजार ५० पुगेको छ।No description available.

काठमाडौंमा २५ हजार २ सय २३, ललितपुरमा ३ हजार २ सय ३४ र भक्तपुरमा २ हजार ५९३ संक्रमित पुगेका छन्। त्यसमध्ये उपत्यकामा साँढे १२ हजार सक्रिय संक्रमित छन।

कोरोना महामारीका कारण हाल लामो रुटका बस आधा सिट क्षमतामा मात्रै चल्ने गरेका छन। यस्तै यात्रु नै नपाउने र जोखिम बढी भएपछि लामो रुटका सबै गाडीहरु चलेका छैनन। यातायात व्यवसायीले पनि हाल ५० प्रतिशत गाडीमात्रै सञ्चालनमा आएको बताएका छन।

समग्रमा भन्दा पोहरको भन्दा यसपटक यो संख्या कम भएको सापकोटा बताउँछन।

यसपटक लकडाउन हुनुअघि नै धेरै मानिस बाहिर गइसकेको, विधार्थीहरु स्कुल, कलेज नलागेका कारण उपत्यकामा नभएको र कोरोनाका कारण कतिपयको बाहिर नजाने सोचका कारण पनि बाहिरिनेको संख्या कम भएको उनी बताउँछन।

यस्तै उपत्यकामा भित्रिने संख्या पनि बढ्दो देखिन्छ। पछिल्लो एक हप्तामा उपत्यकामा १ लाख ६० हजार ४ सय १५ जना भित्रिएका छन। जसमा गाडीको संख्या ३८ हजार ४०६ छ।

यसरी पछिल्लो समय हटस्पट बनेको उपत्यकामा मानिसहरु भित्रिने र बाहिरिने क्रम दुवै बढेपछि देशैभरि कोरोना संक्रमण फैलने जोखिम बढेको विज्ञहरु बताउँछन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले संक्रमण फैलन नदिन सबैले भूमिका खेल्नुपर्ने बताए।

‘यो रोगको खोप नबनेसम्म उपचार भनेकै जनस्वास्थ्यका मापदण्ड पालना गर्नु हो। हामी जति हिडडुल गर्छौ त्यति संक्रमण अरुबाट आफूलाई सर्ने र आफूलाई भए अरुलाई पनि सारिने जोखिम हुन्छ,’ प्रवक्ता गौतमले भने, ‘चाडपर्व फेरि आउनसक्छन तर आफ्ना कारण आफन्त गुमे भने फेरि भेट्न सकिन्न। त्यसैले यो पटक जो जहाँ छौं त्यही दशैं मनाऔं भनेका हौं।’

यसरी संक्रमितको संख्या बढ्दै गएका बेला चहलपहल, हिडडुल हुनु जोखिमयुक्त भएको गौतमले बताए। उनले परम्परादेखि चाडपर्वमा जमघट हुने, भेटघाट गर्ने प्रचलन रहेकाले यसपटक समयानुकुल त्यो जीवनशैलीमा परिवर्तन गर्न सक्नुपर्ने बताए।

साथै उनले लामो तथा छोटो दूरीका सवारी धनीहरुले पनि आफू र यात्रुको स्वास्थ्यलाई ध्यान दिई मापदण्डभन्दा बढी यात्रु चढाउँने र असुरक्षित यात्रा नगर्न अनुरोध गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .