नेपाल प्रहरीको डीएसपी हुँ भन्दै भाइलाई थर्काउने व्यक्ति पक्राउ परेका छन्। कात्तिक १३ गते दिउँसो फोन गरेर चन्दु झालाई कालीमाटी वृत्तमा बोलाएका थिए।
नयाँ नम्बरबाट आफ्नै दाइ बब्लुले फोन गरे पनि चन्दुले चिनेनन्। प्रहरीले बोलाएको भन्दै भोलिपल्ट कालीमाटी वृत्तमा पुगेर डीएसपीलाई भेटेपछि उनलाई नक्कली व्यक्तिले फोन गरेर थर्काएको पत्ता लागेको थियो। प्रहरी अनुसन्धानका क्रममा चन्दुलाई थर्काउने व्यक्ति उनकै दाइ बब्लु भएको खुल्यो।
चन्दु र बब्लुको घरायसी व्यवहारमा लफडा परिरहेको पाइएको छ। त्यसैको फाइदा लिन दाइले डीएसपी बनेर धम्क्याएको पाइएको छ।
बब्लुले फोन गरी ‘म महानगरीय प्रहरी वृत्त कालीमाटी काठमाडौंको डीएसपी बोलेको तपाईको बब्लु झासँग के लफडा हो, तपाई तुरुन्त कालीमाटी वृत्तमा आउनुहोस् नआए कारबाही अगाडि बढाउँछु’ भनेका थिए।
आत्तिँदै वृत्तमा पुगेका चन्दुले १४ गते निवेदन दिएका थिए। प्रहरीले सर्लाहीको रामनगर गाउँपालिका ६ का बब्लु झालाई नियन्त्रणमा लिएको छ। उनीहरु काठमाडौं बस्दै आएका छन्।
थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।
Shares

प्रतिक्रिया