समाज


सय रुपैयाँको स्कुल पढेकी अस्मितालाई विश्वकै महंगो कलेजको छात्रवृत्ति

सय रुपैयाँको स्कुल पढेकी अस्मितालाई विश्वकै महंगो कलेजको छात्रवृत्ति

यज्ञराज जोशी
मंसिर २५, २०७७ बिहिबार ९:५०,

अस्मिता अधिकारीले विदेश गएर पढौँला भन्ने कहिल्यै सोचेकी थिइनन्।

उनी गरिब परिवारमा जन्मिएकी थिइन्। समता स्कुलमा पढ्थिन्। जहाँ मासिक सय रुपैयाँमा विद्यार्थीहरु अध्ययन गर्छन्। शुल्क कम भएकै कारण गरिब घरका विद्यार्थीको रोजाइमा समता स्कुल पर्ने गर्छ।

१५ वर्षीया अस्मिताका बुबा ट्याक्सी चालक हुन्। आमा गृहणी हुन्। उनीहरुको घर चितवन हो। उनको परिवार बौद्धमा भाडामा बस्दै आएको छ।

तिनै अस्मिताले अहिले विश्वकै महंगोमध्ये एक स्वीट्जरल्यान्डको आइग्लोन कलेजको छात्रवृत्ति पाएकी छन्। अर्को महिना उनी त्यसतर्फ जाँदैछिन्।

‘एसईईपछि कुनै सरकारी कलेजमा भर्ना हुन्छु भन्ने सोचेकी थिएँ। तर जिन्दगीमा कहिलेकाहीँ नसोचेको हुँदो रहेछ। स्वीट्जरल्यान्ड गएर पढ्न पाउने खबर सपना झैँ लागिरहेको छ,’ अस्मिताले नेपालखबरसँग भनिन्।

आइग्लोनको वार्षिक शुल्कमात्रै एक करोड रुपैयाँमाथि छ। भारतीय अभिनेता अभिषेक बच्चन त्यही कलेजमा पढेका हुन्। १९४९ मा स्थापना भएको सो कलेजमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोकी छोरीले समेत अध्ययन गरेकी थिइन्।

कलेजले विश्वका विभिन्न देशबाट गरिब विद्यार्थीलाई अध्ययनको मौका दिने निर्णय गरेपछि महतोको सहकार्यमा कलेजका कार्यकारी निर्देशक रिचर्ड म्याकडोनाल्ड अघिल्लो वर्ष नेपाल आएका थिए। त्यहीक्रममा उनले समता स्कुल भ्रमण गरे। विद्याार्थीहरुसँग अन्तक्रिया, अन्तर्वार्ता गरेपछि उनले अस्मितालाई छनोट गरेका हुन्।

‘उहाँले (रिचर्ड) ले विद्यार्थीहरुसँग लिखित र मौखिक अन्तर्वार्ता लिनुभएको थियो। रुचि, परिवारको अवस्था, पढाइका बारेमा सोध्नुभयो,’ अस्मिताले भनिन्, ‘मभन्दा सिनियर थुप्रै दाइदिदी हुनुहुन्थ्यो। मेरो नाम छानिँदा निकै खुसी लाग्यो।’

अस्मिताले ३.९ जीपीए ल्याउँदै यसैवर्ष एसईई उत्तीर्ण गरेकी हुन्। कक्षा ६ देखि समतामा पढ्दै आएकी उनी अध्ययनशील र मेहनती भएकै कारण छात्रवृत्तिमा छनोट भएको समता स्कुलका प्राचार्य अजय अधिकारी सुशील बताउँछन्।

‘पढाइमा जहिलेपनि पहिलो, दोस्रो, तेस्रो हुने विद्यार्थी हो। अतिरिक्त क्रियाकलापमा पनि उनी अब्बल छिन्,’ प्राचार्य अधिकारीले भने, ‘सय रुपैयाँको विद्यालयबाट विश्वकै महँगो स्कुलमा अध्ययन गर्न पाउनु उनका लागि ठूलो अवसर हो।’

अध्ययनसँगै उक्त कलेजले अस्मिताको सबै खर्च बेहोर्नेछ। आफू छात्रवृत्तिमा पढ्न जाने खबरले बुबाआमा निकै खुसी भएको अस्मिताले बताइन्। विदेश पढ्न जाने परिवारकै पहिलो सदस्य हुन् उनी। त्यहीकारण उनलाई उत्साहसँगै अलिअलि डर पनि लागेको छ।

अहिले अस्मिताले कलेजको अनलाइन कक्षा लिइरहेकी छिन्। जसका कारण कलेजका बारेमा थाहा पाउन र साथीहरु चिन्न सजिलो भएको उनले बताइन्।

‘त्यहाँ धेरै देशका विद्यार्थीहरु छन। पहिलेदेखि नै उनीहरुले स्तरीय शिक्षा पाएका हुन्छन्,’ अस्मिताले भनिन्, ‘म पनि सक्दो मेहनत गरेर नेपालबारे राम्रो छाप छाड्ने प्रयास गर्नेछु।’

प्राचार्य अधिकारीले अस्मिताले छात्रवृत्ति पाउँदा समतामा अध्ययन गर्ने अन्य थुप्रै विद्यार्थीहरु उत्साहित भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .