जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्छ तर सुर्खेतमा मालपोत र नापी कार्यालयका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका-६ का सौगात रावतको जग्गा थाहै नदिई कित्ताकाट गरी बिक्री गरेको रहस्य खुलको छ।
वीरेन्द्रनगर नगरपालिका–१२ साबिक जर्बुटा गाविस–३ (क)मा रहेको रावतको कित्ता नं ३१११ को जग्गा यही असार ८ गते कित्ताकाट गरेको तथ्य पत्ता लागेको हो।
आफ्नो जग्गा कित्ताकाट गरी बिक्री गरेको थाहा पाएपछि जग्गाधनी रावतले मालपोत कार्यालयका नायबसुब्बा विश्वरूप सावद, जग्गा व्यवसायी सन्तोष ठाकुरलगायतलाई कानूनी कारबाही माग गर्दै जिल्ला प्रहरीमा जाहेरी दिएका छन्।
जग्गा कित्ताकाटदेखि नामसारी गराउने कार्यमा संलग्न व्यक्तिमाथि छानबिन गरी कारबाही गर्नुपर्ने उनको माग छ।
‘जग्गा नामसारी भएर अर्कै व्यक्तिलाई बेचिसकेपछि अर्थात् यही पुस २९ गते जग्गाको नक्सापास निकाल्ने क्रममा कित्ता नं नभेटिएपछि थाहा पाएँ,’ रावतले जाहेरीमा लेखेका छन्, ‘नापी कार्यालयमा कित्ता नं भिडाउँदा नभेटिएपछि ६ कित्तामा बाँडिएको रहेछ।’
जग्गा किन्न ग्राहक आएपछि आफू ट्रेस नक्सा निकाल्न नापी कार्यालय जाँदा जग्गाको कित्ता नं नभेटिएपछि जग्गा गैरकानुनी तरिकाले खरिद बिक्री भएको थाहा पाएको रावतले बताए।
रावतको साढे ६ कट्ठामध्ये ३ कट्ठा जग्गाको कित्ताकाट गरी नामसारी गरिएको छ। उक्त जग्गा सुरुमा वीरेन्द्रनगर–१ निवासी सहवीर कार्कीको नाममा नामसारी भएको पाइएको छ। मालपोत अभिलेखमा कार्कीको नाममा जग्गा पास हुँदा वीरेन्द्रनगर–४ का नारायण बुढा र वीरेन्द्रनगर–१ का चाँदनी वली साक्षी बसेको उल्लेख छ।
कार्कीका नाममा २०७७ असार १० गतेपछि छ कित्तामा बाँडेर अन्य व्यक्तिका नाममा नामसारी गरिएको छ। रावतका अनुसार उक्त जग्गा छत्रबहादुर थापा, रेखा आचार्यलगायतका छ जनाको नाममा जग्गा नामसारी भएको छ। सरकारले जग्गाको कित्ताकाट रोकेका बेला सहवीर कार्कीले अंश भर्पाईको माध्यमबाट कित्ताकाट गरेको खुलेको छ।
जिल्ला मालपोत कार्यालयका नायबसुब्बा सावदलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो। जिल्ला प्रहरीका प्रहरी निरीक्षक कनकबहादुर शाहीले अदालतबाट म्याद थप गरी आरोपित सावदको बयान लिने काम भइरहेको बताए। सावदले जग्गा नामसारी गर्ने कार्यको मुख्य योजनाकार वीरेन्द्रनगर–२ भुरेली बस्ने ३२ वर्षीय सन्तोष ठाकुर रहेको बयानमा बताएका छन्। ठाकुर हाल फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।
जग्गाधनी रावतले कित्ताकाटदेखि जग्गा नामसारी गर्ने/गराउने कार्यमा संलग्न नापी र मालपोतका कर्मचारीलाई कानुनी कारबाही हुनुपर्ने माग राखेका छन्। प्रहरीले अवैध जग्गा खरिद बिक्रीमा संलग्नको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउने जनाएकाे छ। रासस

प्रतिक्रिया