पश्चिम बंगालको जलपाइगुडीमा तीन सवारी साधन एक आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका ३५ वर्षीय पुष्प रोयको बुधबार मध्यानह उत्तर बंगाल मेडिकल कलेजमा मृत्यु भएपछि मर्नेहरूको संख्या १४ पुगेको हो।
मृतकहरूमा ८ महिला, २ पुरुष र ४ जना बालकबालिका रहेका छन्।
त्यस्तै दुर्घटनामा थप १७ जना घाइते भएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जलपाइगुडीका एएसपी डा. सुमन्त रायले जानकारी दिए।
एएसपी रायका अनुसार यो सडक दुर्घटना मंगलबार राति करिब ९.५० बजे जलपाइगुडी जिल्लाको धुपगढी सिटीमा भएको हो।
बाक्लो कुहिरोका कारण ढुंगा बोकेको ट्रक, म्याजिक भ्यान र मारुती भ्यान एक आपसमा ठोकिँदा उक्त दुर्घटना भएको हो। प्रत्यक्षदर्शीका अनुसार ढुंगा बोकेको ट्रकले दुई भ्यानलाई ठक्कर दिएको थियो।
प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ। ट्रकले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ।
सोमबार राति मात्र गुजरातमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक कुद्दा १५ जनाको मृत्यु भएको थियो भने ५ जना गम्भीर घाइते भएका छन्।
प्रतिक्रिया