यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार राति छापा मारेको छ ।
छापामारीको क्रममा अख्तियारको टोलिले कार्यालयमा लुकाएर राखिएको झण्डै पौने ३ लाख घुस रकमसहित कार्यालय सहयोगी र एकजना दलाललाई नियन्त्रणमा लिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले छापामारीको क्रममा कार्यालय सहयोगी भोगेन्द्र कापर र विचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लिएको अख्तियारको टोलिले जनाएको छ।
सेवाग्राहीबाट घुस लिएर कर्मचारीले बाँडफाँडको लागि कार्यालयको विभिन्न स्थानमा लुकाएर राखेको २ लाख २३ हजार ८ सय रकम र विचौलिया भगतबाट ५० हजार घुस रकम टोलिले बरामद गरेको हो।
विचौलिया भगतले आफू ट्याक्टरको लाइसेन्सको लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरीलाई ५० हजार घुससहित पास गरिदिने सेवाग्राहीको नामावली बोकेर पुगेको टोलिलाई बयान दिएका छन्।
उनले गिरीलाई उक्त रकम र नामावली दिन पुगेकै बेला अख्तियारको टोलिले भित्रैबाट घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ। गिरी एकदशकभन्दा बढी समयदेखि यातायात कार्यालय जनकपुरमा घुस र कमिसनको अखाडा जमाएर बसेको र अन्य ठाउँमा सरुवा हुन लागेको बेला उनले पैसा र पावरको भरमा जनकपुर यातायात कार्यालयमै बस्दै आएको अन्य कर्मचारीले गुनासो गर्ने गरेका छन्।
उनले एकदशक यता यातायात कार्यालयमै घुस र भ्रष्टाचार गरी करोडौंको सम्पति आर्जन गरेको कार्यालयकै एक कर्मचारीले बताएका छन्।
सवारीचालक अनुमति पत्र निकालिदिने वापत सेवाग्राहीसँग लिएर मोटो घुस रकम कार्यालयमा रहेको गोप्य सूचनाका आाधारमा अख्तियारको बर्दिबास कार्यालयले झण्डै ६ घण्टा छापा मारेको हो। अपरान्ह साढे ४ बजेदेखि राति साढे १० बजेसम्म अख्तियारले कार्यालयमा खान तलासी गरेको छ।
अख्तियारको टोलि कार्यालय पुग्दा कर्मचारीहरु भागाभाग भएका थिए। टोलिले कार्यालय प्रमुख विरेन्द्र साहलाई पनि खानतलासी गर्ने बेलासम्म नियन्त्रणमा लिएको थियो।
घुस रकम, कागजात नियन्त्रणमा लिएको र फरार कर्मचारीहरुको खोजिकार्य जारी रहेको टोलिले जनाएको छ।

प्रतिक्रिया