समाज


झा दम्पती बेपत्ता प्रकरण : जग्गा बेच्न नमान्दा अपहरण, एक भारतीयसहित चारजना पक्राउ

झा दम्पती बेपत्ता प्रकरण : जग्गा बेच्न नमान्दा अपहरण, एक भारतीयसहित चारजना पक्राउ

शैलेन्द्र महतो
चैत ८, २०७७ आइतबार १२:४,

महोत्तरीमा घरबाटै आछ्यानसहित बेपत्ता झा दम्पती प्रकरणमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा छिमेकीसहित चारजनालाई सार्वजनिक गरेको हो।

पीपरा गाउँपालिका ५ सहोडबाका वर्ष ५२ का रामबाबु यादव, वर्ष २६ का सुरेन्द्र यादव, वर्ष २४ का राजेन्द्र यादव र विहार मधुवनी घर भई वडा नं. ६ बनौली बस्ने हरेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको हो।

jha-dampati.jpg

गएको फागुन १० गते राति पिपरा गाउँपालिका–५ सहोडवास्थित घरमा सुतेको ठाउँबाट ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी ओछ्यानसहित बेपत्ता भएका थिए।

बेपत्ता परिवारका सदस्यले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

शंकाको आधारमा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरुसँग झा दम्पतीको जग्गाको बाटोसम्बन्धी विवाद रहेको, पोलिग्राफी टेस्टमा झुटो बोलेको लगायतको प्रमाणको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै घटनाको केही दिनपश्चात सडकमा देखिएको रगतको छिटा मानवकै रहेको प्रमाणित भएकाले दम्पतीकै रहेको र उक्त रगतको छिटा पक्राउ अभियुक्त रामबाबुकै घर आँगन अगाडि र घरमासमेत फेला परेको प्रहरीको भनाइ छ। दम्पतीको ओछ्यान नजिक र सडकमा रगतको छिटा फेला परेको थियो भने उनीहरुले आढ्ने झुल पोखरीमा फेला परेको थियो।

दम्पतीको अवस्था अझै अज्ञात रहेको छ।

जग्गा व्यवसायी भारतीय नागरिक हरेन्द्र ठाकुर जग्गाको प्लटिङ गरेर बेचविखन गर्दै आइरहेका थिए।

भारतीय नागरिक ठाकुर समेतले महोत्तरीको सहोडवा गाविस–६ स्थित १३ विगहा जग्गामा प्लटिङ गरेका छन्। सो प्लटिङको उतरतर्फ हाल बेपता पारिएका मुसाफिर झाको १४ कठ्ठा जग्गा रहेको छ। तर सो जग्गाको उतरतर्फ हरेन्द्र ठाकुरको प्लटिङमा बाटो नभएको २ विगाहा जग्गा रहेको छ। त्यसै कारण हरेन्द्रले पटक पटक आफ्नो जग्गा बेच्न मुसाफिर झालाई दवाब दिँदै आएको प्रहरीले जनाएको छ।

मुसाफिरले भने आफ्नो जग्गा अहिले नबेच्ने बताउँदै आएका थिए। प्लटिङ गरेको जग्गाको बाटो नभएकाले सस्तोमा जग्गा किनबेच हुँदा जग्गा व्यवसायी ठाकुर तनावमा थिए भने सहोडवाकै रामबाबु यादबको मिलोमतोमा सस्तो दरमा हरेन्द्रले जग्गा किन्दै आएका थिए।

सोही कारण पटक पटक उनले रामबाबु यादवमार्फत मुसाफिर झा र उनकी श्रीमती गीता देवीलाई जग्गा बेच्न दबाब दिँदै आएका थिए।

गत फागुन १० गते रातिदेखी बेपता पारिएका झा दम्पतीकाे घरकै छेउमा रामबाबु यादवको घर रहेको छ। रामबाबु यादवको घरको पश्चिमतर्फको ढोकाको दक्षिण भित्ता र घरको कोठाभित्र विभिन्न स्थानहरुमा रगत जस्तो रातो पदार्थ फेला परेको थियो। उक्त रगत परीक्षण गर्दा मानव रगत नै हो भनेर खुलेको छ। 

यस्तै, शंकास्पद ४ जनालाई पोलिग्राफ गरिएको थियो। सो क्रममा उनीहरुले प्रहरी समक्ष झुठो बोलेको प्रहरीलाई प्रतिवेदन प्राप्त भइसकेको छ।

यता, जग्गा कारोबारी हरेन्द्र ठाकुर फागुन १० गतेका दिन प्लटिङ स्थलमै उपस्थित रहेको र उनले ११ गते राति पटक पटक अस्वभाविक रुपमा कुराकानी गरेको तथा उनको गतिविधि पनि शंकास्पद रहेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

मुसाफिर झाको हालै बन्दै गरेको पक्की घर रामबाबु यादबले नै बनाएका कारण मुसाफिर झाको घरको सम्बन्धमा उनलाई राम्ररी जानकारी रहेको प्रहरी उपरीक्षक दिनेश अचार्यले बताए।

सो घटनाको जिल्ला प्रहरी कार्यालय महोत्तरी, २ नम्वर प्रदेश प्रहरी कार्यालय धनुषाले अनुसन्धान गरेको थियो भने अहिले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले थप अनुसन्धान गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad