रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा दुई किशोरीलाई बन्धक बनाएर नौ दिनसम्म बलात्कार गरेको घटना सार्वजनिक भएको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक युवा र एक किशोरलाई पक्राउ गरेको छ।
भूमे गाउँपालिकाका १४ र १५ वर्षीया दुई किशोरीलाई सदरमुकाममा रहेको जिल्ला अस्पतालको पुरानो भवनको कोठामा नौ दिनसम्म बन्धक बनाएर बलात्कार गरिएको प्रहरीले जनाएको छ।
स्थानीय विद्यालय कक्षा ८ मा अध्ययनरत १४ र १५ वर्षीया किशोरीलाई चैत १ गतेदेखि ९ गतेसम्म बन्धक बनाएर बलात्कार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक मानबहादुर बुढाथोकीले जानकारी दिए।
पक्राउ परेका युवा २३ र किशोर १४ वर्षका छन्। उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
प्रहरीका अनुसार बन्धक बनाएपछि हरेक दिन बिहान दिसापिसाबका लागि किशोरीहरुलाई बाहिर लैजाने थियो। दिसापिसावपछि फेरि कोठामा लगेर थुन्ने गरिएको थियो। हल्ला गरे, चिच्याए, कराए मार्ने धम्की दिँदै किशोरीहरुलाई बलात्कार गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका युवालाई जिल्ला अदालतबाट १० दिनको म्याद लिएर कारबाही अघि बढाइएको बुढाथोकीले जानकारी दिए। किशोरलाई भने ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको बुढाथोकीले बताए। हाल प्रहरीको संरक्षणमा रहेका किशोरीलाई अभिभावको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया