भारतमा कोरोना महामारी दिनप्रतिदिन भयावह बन्दै गएको छ।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३८४ कोरोना संक्रमित थपिएका छन्। एक दिनमै थपिएको संक्रमितको यो संख्या महामारी सुरु भएयताकै ठूलो हो।
मन्त्रालयले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७९४ जनाको मृत्यु भएको छ।
यसअघि बिहीबार पनि भारतमा २४ घण्टाभित्रै लाखभन्दा माथि अर्थात् १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
भारतमा कोरोनाबाट संक्रमणमा परेका व्यक्तिको कूल संख्या १ करोड ३२ लाख ५ हजार ९२६ तथा संक्रमणबाट मृत्यु भएकाको कूल संख्या १ लाख ६८ हजार ४३६ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
खुला सीमा भएको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपाल पनि ठूलो जोखिममा परेको छ।

प्रतिक्रिया