तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको सिफारिस दिएको आरोपमा वडाध्यक्षसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापा, वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। शरणार्थीका सन्तानलाई वडा कार्यालयबाट वंशजको नागरिकता प्रदान गर्नका लागि सिफारिस गरेकाले उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको कार्कीले जानकारी दिए।
सोही वडाका लेखबहादुर थापाले तिब्बती शरणार्थीसँग विवाह गरेका छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएका थिए। थापाका नातिनी सरु र तासी आङ्मोले जिल्ला प्रशासनबाट गत जेठ २६ र असार ६ गते नेपाली नागरिकता लिएका थिए।
झुटो विवरण पेश गरेर उनीहरुले नागरिकता लिएको भन्ने उजुरी आउनासाथ प्रशासनले दुवै जनाको नागरिकता जफत गरेको थियो भने झुटो विवरण पेश गर्ने थापासहित घटनामा संलग्नहरुलाई पक्राउ गरेको थियो। रासस
Shares

प्रतिक्रिया