बाँके, कैलालीको धनगढी, बझाङ र चितवनमा थप १३ कोरोना संक्रमितको मृत्यु भएको छ।
राष्ट्रिय समाचार समितिका अनुसार बाँकेमा थप ५ जना, धनगढीमा थप चार जना, बझाङ र चितवनमा थप २/२ जनाको मृत्यु भएको हो।
बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु
बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी ५१ वर्षीय पुरुषको आज बिहान ३ः३० बजे, नेपालगञ्ज–१ निवासी ६६ वर्षीय पुरुषको ४ः०० बजे र बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४७ वर्षीय पुरुषको आज बिहान ६ः३० बजे मृत्यु भएको हो।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा नेपालगञ्ज–५ निवासी ४८ वर्षीय पुरुषको गए राति ९ः३० र बैजनाथ गाउँपालिका–८ निवासी ६० वर्षीया महिलाको आज बिहान १ः२० बजे मृत्यु भएको थियो । योसँगै बाँकेका १३३ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका १२२ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए।
धनगढीमा कोरोनाबाट थप चारको मृत्यु
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा –१० की ३५ वर्षीया महिला छन् । ती पुरुषको आज बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
त्यस्तै धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजेका समयमा मृत्यु भएको जोशीले जानकारी दिए।
सेतीमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ ।
बझाङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु
यहाँ थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। जिल्ला अस्पतालको कोरोना वार्डमा उपचारका क्रममा रहेकी जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिलाको ज्यान गएको हो।
सात दिनदेखि बिरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पताल भर्ना भएकी थिइन् ।
अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका डा मिलन खड्काले जानकारी दिए्।
कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आइतबार राति ११ः०० बजे ज्यान गएको स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए।
यसैबीच एक अर्का कोरोना सङ्क्रमितको पनि ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि घर जाने क्रममा बीच बाटोमा नै उनको आइतबार राति १२ः०० बजे ज्यान गएको उनका आफन्तले जानकारी दिएका छन् ।
जिल्ला अस्पतालमा यही वैशाख १८ गते कोरोना जाँच गराउँदा रिपोर्ट पोजेटिभ आएको र १९ गते उनी तल्कोट गाउँपालिका–१ स्थित घर जानलाई सदरकमुकाम चैनपुरबाट हिँडेकी थिइन् ।
साँझ घर जाने क्रममा अबेर भएपछि उनी आफन्तको घरमा बसेको र राति १२ः०० बजे उनको मृत्यु भएको आफन्तले जनकारी दिएका छन् ।
कोरोना पोजेटिभ भएपछि होम आइसोलेशनमा बस्ने भन्दै उनी अस्पतालबाट निस्किएकी थिइन् । घर नआएर आइसोलेशनमा बस्नु भनेर भनेको भए पनि गाडी बुक गरेर घर आएको तल्कोट–१ का वडाध्यक्ष गोपाल धामीले बताए।
आफूले प्रहरीलाई खबर गरेर घर आउन नदिनू भनेर जानकारी गराएको भए पनि मृतक लेप्रहरीलाई छलेर घर आएको वडाध्यक्ष धामीले बताए।
जिल्लामा आइतबारसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ भने कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २०४ पुगेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्लामा सोमबार बिहान १ः०० बजेदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको पूर्ण पालना गर्दै सुरक्षित रहन सबैमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले अनुरोधसमेत गरेको छ ।
चितवनमा दुईको मृत्यु
जिल्लाका अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचाररत तनहुँका कोरोना सङ्क्रमित र चितवन मेडिकल कलेजमा उपचाररत बाराका सङ्क्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा तनहुँको आँबुखैरहनी गाउँपालिका–३ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ४ः४५ बजे मृत्यु भएको हो ।
अस्पतालका अनुसार यही वैशाख ११ गते निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका उनमा १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको हो ।
यस्तै चितवन मेडिकल कलेजमा उपचारका क्रममा बाराको कलैया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको उपचारका लागि वैशाख १४ गते अस्पतालमा भर्ना भएका उनमा १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको आज बिहान ९ः३५ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया