४७८ फोन, ७९३ फेसबुक म्यासेज, २८६ एसएमएस, २५४ ह्वाट्सएप म्यासेज, १७२ भाइबर र ११२ इन्स्टाग्राम म्यासेज।
हाम्रो सानो प्रयास नामक संस्थाका राष्ट्रिय संयोजक पुकार बमलाई गत सोमबार बिहान साढे ६ देखि मध्यरातिसम्म आएका फोन तथा म्यासेजको विवरण हो यो।
कोरोनाभाइरसको संक्रमण रोकथाम तथा संक्रमणका लागि गतवर्ष चैतमा लकडाउन सुरु भएदेखि नै बमको टोली मानिसहरुको सेवामा खटिएको थियो। उनको टोलीले विभिन्न स्थानमा हजारौँ मानिसलाई खाना खुवाएको थियो।
उनीहरुको खाना ख्वाउने कार्यक्रम निरन्तर जारी थियो। बीचमा जनजीवन समान्यउन्मुख बन्दै जाँदा उनीहरुले दैनिक ६०–७० जना असहाय, घरबारविहिनलाई खाना खुवाइरहेका थिए।
यहीबीच नेपालमा संक्रमणको दोस्रो लहर सुरु भयो। पुनः उपत्यकासहित अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।
यसपटक बमको टोलीले खाना ख्वाउने कार्यक्रमसँगै अक्सिजन, आईसीयू, भेन्टिलेटर, रगत, प्लाज्मा, एम्बुलेन्स लागि पनि समन्वय गरिरहेको छ। त्यसैका लागि तारन्तर उनको फोन बजिरहेको छ। बुधबार दिउँसो हामीसँग कुरा गर्दा पाँच सय बढीले सहयोगका लागि कल गरिसकेको उनी बताउँदैथे।
‘रुँदै, कराउँदै, बचाउन आग्रहसहितका फोन आउँछन। ९०–९५ प्रतिशत बढी कल आईसीयू, भेन्टिलेटर, अक्सिजनका लागि छन्,’ बमले नेपालखबरसँग भने, ‘यी फोनले एकातिर महामारीको विकराल रुप देखाएको छ भने अर्कातिर सरकारी व्यवस्थापनलाई उदांगो पारेको छ।’
‘एउटा सामान्य नेटवर्कले चलाएको अभियानमा त दैनिक हजार बढी मान्छेले हारगुहार गर्छन भने देशैभरि सपोर्ट चाहिने मान्छेहरु कति होलान्,’ उनी थप्छन्।
अहिले सयौँको संख्यामा बेड, आईसीयू, भेन्टिलेटरको खोजी भइरहे पनि तीनचार वटा मात्रै उपलब्ध हुने गरेको उनले सुनाए।
‘थुप्रै उपचार नपाएरै मरिरहेका छन्। समय छँदै व्यवस्थापन नगरेकाले ती मृत्युको जिम्मा सरकारले लिनुपर्छ,’ उनले आक्रोश पोखे, ‘अहिले ५ सयभन्दा बढी आईसीयूको माग छ। तर, दुईतीन वटाभन्दा खाली छैन। खाली भएपछि आउने भनेर पोखरा, नेपालगञ्ज, धनगढीमा बिरामीहरु हेलिकोप्टर स्ट्यान्डबाइ राखेर कुरिरहेका छन्।’
अक्सिजनको माग बढी
बमको टोलीले राहत, अक्सिजन, आईसीयू भेन्टिलेटरका लागि छुट्टाुछुटै समूह बनाएका छन्। जसमा उनको संस्था हाम्रो सानो प्रयास, हाम्रो टिम नेपाल र सहानुभूति नेपाल जोडिएका छन्। उनीहरुले प्रत्येक अस्पतालसँग समन्वय गरेर बेड, खाली रहे नरहेको तथ्यांक राख्छन्। बिरामीलाई ती अस्पताल जान सहज बनाउँछन्।
‘हामीसँग एकातिर सहयोग दिनेहरुको अर्कातिर सहयोग लिनेहरुको लिस्ट छ,’ उनी भन्छन्, ‘सहयोग दिनेहरु जम्मा १० प्रतिशत छन् चाहिनेहरु ९० प्रतिशत छन्। त्यस हिसाबले १० वटा कल आउँदा एक जनाले मात्रै उपचार पाउने अहिलेको स्थिति छ।’
निषेधाज्ञाको पहिलो दिनदेखि नै उनीहरुलाई अक्सिजन उपलब्ध गराइदिन फोन आउन थालेको उनले बताए। त्यसैले उनीहरुले अक्सिजन बैंक सुरु गरेका छन्। अहिले उनीहरुसँग ७० सिलिन्डर बढी अक्सिजन जम्मा भइसक्यो। आवश्यक पर्नेलाई अस्पतालदेखि घरसम्म उनीहरुले पु¥याउँदै आएका छन्।
‘अक्सिजन बैंक सुरु नगर्दै हामीलाई अक्सिजनका लागि दैनिक चारपाँच सय कल आउँथ्यो,’ उनी भन्छन्, ‘त्यसपछि हामीले सिलिन्डर दिन चाहनेलाई माग ग¥यौँ। आफन्त, कोरोना संक्रमित भएर निको भइसकेका लगायतले सहयोग गर्नुभयो। अहिले आवश्यक परेका र चिकित्सकका सल्लाहअनुसार उपलब्ध गराउँदै आएका छौँ।’
उनले चीनबाट तत्काल अक्सिजन, भेन्टिलेटरलगायत अत्यावश्यक चिज ल्याउन सरकारले पहल गर्नुपर्ने बताए।
‘निजी क्षेत्रले तत्कालै हजारौं सिलिन्डर आयात गर्नसक्छ भने सरकारले किन सक्दैन?’ उनी प्रश्न गर्छन्, ‘सरकारसँग पैसा छ। चीनसँग चाहिने सामाग्री छ। हाम्रो सम्बन्ध पनि राम्रो छ। अक्सिजन, भेन्टिलेटर, आईसीयू बेड ल्याई नागरिकको ज्यान जोगाउने प्रयत्न किन हुँदैन? त्यो सम्झिँदा रिस उठ्छ।
अहिले सबैकोे ध्यान उपत्यका तथा सहरमा केन्द्रित भएको तर गाउँगाउँमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले विकराल रुप लिनेतर्फ उनले सचेत गराए।
तीन ठाउँमा खान ख्वाउँदै
बमसहितको समूहले अहिले उपत्यकाका तीन ठाउँमा भोकाहरुलाई भोजन गराइरहेको छ। थापाथलीस्थित प्रसूतिगृहपछाडिको चौरमा, रत्नपार्क र पशुपतिमा दैनिक सयौँले खाना खाइरहेका छन्।
पहिलो लकडाउनदेखि बमको टोलीले निरन्तर खाना खुवाउन थालेको ३७९ दिन भयो। यसअवधिमा ६ लाखभन्दा बढीलाई खाना ख्वाइएको उनी बताउँछन्।
अहिले दैनिक २ सय बढीले खाना खाइरहेको उनले बताए। अहिले आफूहरुलाई साथीभाइ, आफन्त र विदेशमा रहेका नेपालीहरुले सहयोग गरिरहेको उनको भनाइ छ।
फेरि जाग्न सक्छ इनफ इज इनफ
अघिल्लो पटक सरकारले लगातार १२० दिनसम्म लकडाउन गर्दा पनि संक्रमण रोकथामको आवश्यक तयारी, पूर्वाधार निर्माण लगायत क्षेत्रमा काम नगरेको भन्दै काठमाडौंमा इनफ इज इनफ आन्दोलन भएको थियो।
उक्त आन्दोलनको नेतृत्व बमलगायतले गरेका थिए। सरकारले शंकास्पद नागरिकको पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्ने, महामारीमा भएको औषधि खरिद लगायत प्रक्रियामा भएको भ्रष्टचारको छानबिन गर्नुपर्ने विषय उठाउँदै बम सत्याग्रहमा पनि बसेका थिए।
पछि सरकारसँग सहमति भएपछि उनले सत्याग्रह तोडे।
तर अहिलेपनि सरकारले नागरिकलाई जोगाउ्न पानी, सिटामोल, खानाको व्यवस्था नगरेकाले पुनः इनफ इज इनफ आन्दोलन जाग्नसक्ने चेतावनी बम दिन्छन्।
‘मन्त्रीले अन्तर्वार्तामा सबैथोक ठिक छ। केही अभाव छैन भनेर हाकाहाकी झुट बोल्नुहुन्छ,’ उनी भन्छन्, ‘इनफ इज इनफ आन्दोलन उठ्न सक्छ। अहिले सहेर बसेका छौँ। यस्तै हो भने केही समयपछि हामी बौलाउँछौँ। त्यसबेला जेपनि हुनसक्छ।’
स्रोत साधन भएर पनि यसरी दैनिक ५० भन्दा बढीको ज्यान जाँदा सरकार चुप लागेर बस्ने हो भने नागरिकहरुको आक्रोस विस्फो हुने उनको भनाइ छ। त्यसबेला नियम, बन्दुक केही नमानी सडकमा आउनुपर्ने स्थिति बन्नसक्ने उनी बताउँछन।
संक्रमण रोकथाम तथा चेनब्रेकमा नागरिक आफैँ पनि जिम्मेवार तथा सचेत बन्नुपर्नेमा उनले जोड दिए।
अहिलेपनि मानिसहरुले पूजा, भोज, जात्रा, जमघट गरिरहेकोमा उनले असन्तुष्टि जनाए।
‘पार्टी, ट्रेकिङ, हाइकिङ, बिहेमा कोरोना लाग्दैन जस्तो ठानेर सहभागी भइरहेका छन्। हाम्रा निकै व्यवहारले अहिलेको स्थिति आएको हो,’ उनी भन्छन्, ‘हामी जिम्मेवारी भएनौँ भने भोलि तपाईंले फोन गर्दा हामीले बेड खाली छैन भन्ने अवस्था आउनसक्छ।’
Shares
प्रतिक्रिया