नेपाली सेनाले सगरमाथा बेस क्याम्पमा फेला परेका दुई विदेशीको शव आज काठमाडौं ल्याएको छ।
‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत् सगरमाथा हिमालको फोहोर संकलन गर्ने क्रममा चौथो शिविर (८ हजार मि.) आसपासमा फेला परेका दुई वटा शव कानुनी प्रक्रिया पश्चात सोमबार हेलिकप्टर मार्फत काठमाडौं ल्याएको सेनाले जनाएको छ।
सन् २०१९ मा सगरमाथाको आरोहण पश्चात फिर्ता हुने क्रममा मृत्यु भएका अमेरिकाको कोलोराडो निवासी ६२ वर्षीय क्रिस्टोफर कुलिसको शव र पहिचान नखुलेको एक गरी दुईवटा शवहरु गत २०७८ वैशाख २९ गते र ३१ गते सगरमाथाको चौथो शिविरमा ढुङ्गाको चेपमा फेला परेको थियो।
‘सफा हिमाल अभियान २०२१’ को ‘डेड बडी रिकभरी टिम’ ले उक्त शवहरु वैशाख ३० र जेठ ९ गते दोस्रो शिविरमा ल्याउन सफल भएकोमा दोस्रो शिविरबाट हेलिकप्टरद्वारा आज सोमबार आधार शिविरसम्म ल्याई सफा हिमाल अभियानमा खटिएका डाक्टर अधिकृतको प्रारम्भिक मेडिकल प्रतिवेदन र लुक्ला स्थित जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी मुचुल्का सहित शव व्यवस्थापनको लागि आजै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुझाइएको छ।
साथै, ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत् संकलित फोहोरहरु गत वैशाख २२ गते विश्व वातावरण दिवसको अवसर पारेर एकमुष्ठ रुपमा रिसाइकल गर्ने प्रयोजनको लागि हस्तान्तरण गर्ने योजना रहेकोमा हालको महामारीको कारण चरणबद्ध रुपमा फोहोर हस्तान्तरण गर्न मिलाइएको सेनाले जनाएको छ।
यसै क्रममा आज मिति २०७८ ज्येष्ठ १० गते जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले सगरमाथा तथा आमादब्लम हिमालबाट संकलन गरिएको फोहोर अभानी भेन्चर प्रालिलाई हस्तान्तरण गरेका छन्।
आमादब्लम हिमालबाट संकलन गरिएको ३ हजार ४४२ केजी फोहोर मध्ये कुहिने ६० केजी र नकुहिने ६ हजार १९० केजी फोहोर रिसाइकल गर्ने प्रयोजनको लागि आज हस्तान्तरण गरिएको हो।

प्रतिक्रिया