समाज


सुर्खेतमा बेवारिसे गाई नेपालगञ्ज फिर्ता पठाइयो

सुर्खेतमा बेवारिसे गाई नेपालगञ्ज फिर्ता पठाइयो

नेपालखबर
भदौ १४, २०७६ शनिबार १३:०,

दैलेख पु¥याउने भनी रातारात सुर्खेतको कटकुवा जंगलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी पुनः नेपालगञ्जतर्फ पठाइएको छ।

स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारदेखि नेपालगञ्ज फिर्ता पठाउन थालेको हो। जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले १४२ वटा गाई नेपालगञ्ज पठाइसकेको जानकारी दिए। उनले घाइते रहेका कतिपय गाई–गोरुको औषधि उपचार गरी फिर्ता पठाइने बताए।

वीरेन्द्रनगर नगरपालिकाको पशु स्वास्थ्य शाखाका चिकित्सकको टोलीले शुक्रबार मृत भेटिएका गाईको मुचुल्का तथा शव परीक्षण गर्नुका साथै घाइतेको उपचार गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत गाई–गोरुको संख्या ३० पुगेको छ। परीक्षण रिर्पोटपछि मात्र गाईको हत्या भए÷नभएको यकिन हुने प्रहरीको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नेपालगञ्ज उप–महानगरपालिकाको काञ्जीहाउसबाट दैलेखको शिरस्थान धार्मिक क्षेत्रमा पठाउने भनी ती गाई पठाइएको थियो। तर, शिरस्थान क्षेत्र पर्ने दैलेखको भैरवी गाउँपालिकाले भने आफ्नो तर्फबाट लिखित÷मौखिक कुनै माग नगरेको प्रतिक्रिया दिएको छ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले आफू वडा कार्यालय र मन्दिर व्यवस्थापन समितिले नेपालगञ्ज उपमहानगरपालिकासँग त्यस्तो कुनै माग नगरेको प्रष्ट पारे। ‘यहाँ त्यति ठूलो संख्यामा गाई–गोरु पाल्न सकिने ठाउँ छैन्, भ्रमपूर्ण प्रचार गरिएको छ, शिरस्थान क्षेत्रका लागि कुनै माग भएको छैन्,’ उनले भने। भैरवी गाउँपालिका–१ को कार्यालय र शिरस्थान मन्दिर व्यवस्थापन समितिले पनि आफूहरुले गाई–गोरुको माग नगरेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।

शुक्रबार बिहान ३ बजेतिर वीरेन्द्रनगर वडा नं– १४ पर्ने कटकुवा जंगलमा २९१ गाई–गोरु अलपत्र अवस्थामा छाडिएको थियो। कतिपय गाई–गोरु भीरबाट खसालिएको अवस्थामा भेटिएकाले स्थानीयवासीले ‘गौहत्या’ भन्दै घटनामा संलग्नलाई कानूनी कारबाहीको माग गरेका छन्। घटनाको विरोधमा शनिबार मंगलगढी चोकबाट शुरु भएको ¥याली वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले गाईलाई दानवीय हिसाबले भीरबाट खसालिएको भन्दै घटनाको निन्दा गरे। ‘एउटा प्रदेशका छाडा पशु चौपाया अर्को प्रदेशको अनुमति बेगर ल्याएर छाडियो, नेपालगञ्ज उपमहानगरपालिकाको गम्भीर लापरबाही हो’, अध्यक्ष रावतले भने, ‘दोषी जुनसुकै ओहदाको भए पनि कारबाही गर्न सरकारले हिम्मत गरोस्, गाई राष्ट्रिय जनावर मात्र होइन हाम्रो (हिन्दू) धर्म–संस्कृतिसँग जोडिएको अभिन्न प्राणी हो,यस्तो अपराधलाई छुट दिन सकिन्नँ।’

सुर्खेत प्रहरीले पाँच ट्रकका चालक र सहचालक गरी सात जनालाई शुक्रबारै नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको छ। मुलुकी अपराधसंहिताअन्तर्गत पशुपक्षीसम्बन्धी कसुर गर्नेलाई कानूनी कारबाही गर्ने प्रावधान छ। अपराधसंहिताको उक्त कसुर अन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ।

उपदफा २ मा गाई र गोरु मारेमा तीन वर्ष कैदको हुने व्यवस्था छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad