समाज


देशका धेरै ठाउँमा चट्याङसहित वर्षाको सम्भावना, विपदबाट बच्न आग्रह

देशका धेरै ठाउँमा चट्याङसहित वर्षाको सम्भावना, विपदबाट बच्न आग्रह

नेपालखबर
भदौ १८, २०७६ बुधबार १:४९,

आज (बुधबार) देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

साथै केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

उनका अनुसार अहिले (बुधबार बिहान सवा ७ बजे) पूर्वका मोरङ, झापालगायत आसपासका स्थान तथा पश्चिमका कैलालीलगायत क्षेत्रमा वर्षा भइरहेको छ भने मुलुकका अन्य भागमा सामान्य बदलीको अवस्था छ।

दिउँसो देशका धेरैजसो स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुने मौसमी संकेत देखिएको मौसमविद् अर्यालले बताए। ‘केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ,’ नेपालखबरसँग उनले भने।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै विपदबाट बच्न आग्रह गरेकाे छ। 

महाशाखाले भनेको छ- ‘देशभरि सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षाका साथै थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। यसको प्रभावले पहाडी भूभागमा पहिरो  जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले  सतर्कता अपनाउनु हुन अनुरोध छ।’

महाशाखाका अनुसार राति पनि देशैभर सामान्य मौसम बदली हुनेछ भने पश्चिम र मध्यका अधिकांश र पूर्वका केही स्थानमा वर्षा हुने सम्भावना छ।

‘साथै राति पनि देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् अर्यालले भने।

महाशाखाका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थान भन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पश्चिमी भागमा एउटा न्यून चापीय प्रणाली बनेको छ।

मौसमविद् अर्यालका अनुसार अहिलेको मौसम बदली पश्चिम बंगालबाट आइरहेको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले भइरहेको हो। ‘अहिले प्रणाली (मौसमी) पूर्वबाट पश्चिमतर्फ सिफ्ट (सर्दै) हुँदै छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad